१२ असोज, गोरखा । गोरखा-आँबुखैरेनी सडकखण्ड अन्तरगत गोरखा नगरपालिका-१२ दश किलोमा स्थानीयले अवरुद्ध पारेको सडक खुलाउन प्रहरीले लाठी चार्ज गरेको छ ।
शुक्रबार बिहान करिब दश वजे मोटरसाइकलले सोही ठाउँका स्थानीय रुऽबहादुर कुमाललाई ठक्कर दिएर भागेपछि क्षतीपूर्तिको माग राख्दै स्थानीयले सडकअबरुद्ध गरेका हुन् ।
१२ किलोबाट अबुवा जाँदै गरेको मोटरसाइकलको ठक्करबाट घाइते अन्दाजी ७० वर्षीय कुमालको ठाउँको र खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ । उनको तनँहुस्थित छिम्केश्वरी अस्पतालमा उपचार भइरहेको छ । टाउको र खुट्टामा गरी ३७ टाका लगाइएको छ ।
ठक्कर दिएर फरार रहेको मोटरसाइकलाई प्रहरीले अहिलेसम्म नियन्त्रणमा लिन सकेको छैन । हालसम्म मोटरसाइकलको नम्बर प्लेट पनि थाहा हुन सकेको छैन ।
फरार मोटरसाइकल र चालकलाई पक्राउ गर्नुपर्ने र उपचारका लागि उचित क्षतीपूर्ति दिन माग गर्दै स्थानीयलेे सडकअबरुद्ध गरेका हुन् ।
चार घण्टासम्म पनि सडक नखुलेपछि प्रहरीले लाठी चार्ज गरेर अवरुद्ध सडक खुलाएको हो । लाठी चार्ज गर्ने प्रहरीको प्रतिवाद गर्दै स्थानीयले ढुङ्गामुढा गरेका थिए ।
लाठी चार्जबाट केही स्थानीय घाइते भएका छन् भने स्थानीयले हानेको ढुङ्गाले लागेर एक जना सशस्त्र प्रहरी जवान घाइते भएका छन् ।
बाटो बन्द गर्ने समूहसँग कुनै सहमति नहुने प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराइले बताए । ‘बाटो बन्द गर्नेहरुसँग कुनै खालको सहमति नगर्ने भन्ने माथि बाटै निर्देशन छ, तर घटनाको दोषीलाई पत्ता लगाएर कानुनी कारबाही गर्नेर्छौ, हामी त्यसको खोजीमा लागी परेका छौ,’ उनले भने ।
अवरुद्ध सडक चार घण्टापछि संचालनमा आएको हो । सडक अवरुद्ध हुँदा जिल्ला भित्रने र जिल्ला बाहिरिने सवारीसाधन ठप्प थिए । विभिन्न काम बिशेषले यात्रामा हिँडेका सर्वसाधारणहरुको बिचल्ली भएको थियो ।