कांग्रेसको प्रश्न : नेपाल देशमा सरकार छ ? छ भने कहाँ छ ?

By purnakhabar

November 22, 2018

६ मंसिर, काठमाडौं । नेपाली कांग्रेसले सरकार गठन भएको ९ महिनासम्म सरकार रहेको अनुभूति नै नभएको बताएको छ । सरकारको ९ महिनाको समीक्षा गर्दै कांग्रेसले यो अवधिमा सरकार कहाँ छ भन्ने अवस्था देखिएको बताए ।

बिहीबार पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता विश्वप्रकाश शर्माले भने ‘मंसिर ३ गते वर्तमान सरकार गठन भएको ९ महिना पुगेको छ । ९ महिना पुगेको यो घडीमा “नेपाल देशमा सरकार छ ? छ भने कहाँ छ” भनेर छोटो तर कारुणिक प्रश्न सार्वजनिक गर्नुपर्ने अवस्था बनेको छ उनले भने ।

शान्ति सुरक्षा कायम गर्न सरकार पूर्ण असफल भएको र सुशासनको नारा पनि नमच्चिने पिङको सय झट्कामात्र भएको बताएको पनि कांग्रेसले बताएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्रमा २ जनाको हत्या भएको, सर्लाही र रोल्पामा गरी कांग्रेसका दुई कार्यकर्ताको हत्या भएको र निर्मला पन्तको बलात्कारपछि हत्यामा संलग्नको पहिचान गर्न नसकेको शर्माले बताए ।

‘सरकारसँग नागरिकको सबैभन्दा ठूलो अपेक्षा सुरक्षाको हुन्छ’ उनले भने ‘सरकार सबै नागरिकको जीउधनको सुरक्षा गर्न असफल भएको छ ।’

निर्मला पन्तको बुबाआमा एक महिनादेखि धर्नामा रहेको भन्दै शर्माले प्रधानमन्त्रीलाई सोधे ‘प्रधानमन्त्रीज्यू यहाँको रामराज्यमा निर्मला पन्तले न्याय पाउने सम्भावनाको मृत्यु भइसकेको हो ?’

सरकार अहिले कुनै पनि विषयमा पास नभएको भन्दै प्रवक्ता शर्माले ३ महिनापछि आउने वार्षिक परीक्षाको शुभकामना दिए । ‘३ महिनापछि वार्षिक परीक्षा आउँदैछ, सरकारलाई शुभकामना छ’ उनले भने ।

प्रवक्ता शर्माले सरकार आफै संघीयतालाई असफल पार्न लागेको आरोपसमेत लगाए ।

अनलाइन खबरबाट