समीक्षा बैठकमा कडि्कए प्रधानमन्त्रीः अब ‘तर, पनि, यदि’ चल्दैन, परिणाम चाहियो

By purnakhabar

November 21, 2018

५ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ढिलासुस्ती स्वीकार्य नभएको बताएका छन् । वजेट कार्यान्वयन समीक्षा बैठकमा प्रधानमन्त्री ओलीले सरकार गठनको नौ महिनासम्म पनि पुरानै बानी नहटेको भन्दै असन्तुटि जनाएका हुन् ।

‘एउटा टेवलबाट अर्को टेवलमा फाइल सर्न कैयौं दिन लाग्ने, सिंहदरवारको एउटा कार्यलयबाट अर्को कार्यलयमा पत्र पुग्न महिनौं लाग्ने । यो पाराले कसरी अघि बढ्न सकिन्छ ?’ मन्त्री तथा सचिवहरु उपस्थित बैठकमा उनले भनेका छ ।

प्रधानमन्त्री ओलीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयबाटै ढिलासुस्ती भएको भए पनि भन्न आग्रह गरे । ‘ऐन कानुनले ढिलासुस्ती भएको छ भने त्यो पनि भन्नुहोस् । त्यस्ता ढिलासुस्तीका कारणलाई निरुपण गर्नेतर्फ मेरो ध्यान जान्छ’ उनले भनेका छन्, ‘तर, अब कहीँ पनि ढिलासुस्ती स्वीकार्य छैन ।’

विकास र जनताको काम गर्न कसैले पनि ‘तर, पनि, यदि’ भनेर उन्कन नपाउने उनले बताए । ‘सबैले परिणाम दिने गरी र परिवर्तन देखिने गरी काम गर्नुहोस्’ प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै निजी सचिवालयले भनेको छ, ‘आफ्ना कमजोरीहरुलाई तर्कको लेपनले टाल्न नखोज्नुहोस् भन्नु भएको छ ।’

प्रधानमन्त्री ओलीले केही तत्वहरु लोकतन्त्रको जरा काट्न उद्ध्त रहेको टिप्पणी गरेका छन् । ‘हामीले लोकतन्त्रको अनुभूति तल्लो स्तरका जनतालाई गराउने गरी काम गर्नुपर्छ’ उनले भनेका छन्, ‘जनतामा आशावादिता जगाउने गरी काम गर्नुपर्छ । जनता निरशा भए देशका लागि घातक हुन्छ ।’

बैठकमा भौतिक पूर्वाधार, सूचना प्रविधि, उर्जा, कृषि, उद्योग मन्त्रालय र पुननिर्माण प्राधिकरणका सचिवले आ-आफ्नो चौमासिक प्रगति विवरण पेश गरेका थिए ।

अनलाइन खबरबाट