५ मंसिर, वीरगञ्ज । मुस्लिम धर्मालम्वीले आज इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद पैगम्बर सल्लाह अलैवसल्लामको जन्म जयन्ती मनाएका छन् ।
मोहम्मद डे भनिने मोहम्मद पैगम्बरको जन्मदिनमा वीरगञ्जको घण्टाघरमा ठूलो संख्यामा जम्मा भएका मुस्लिम धर्माबलम्बीहरुले वृहत र्याली निकालेका छन् ।
घण्टाघरबाट निकालिएको र्याली माईस्थान, आदर्शनगर, विर्ता, छपकैयाँ हुँदै नगर परिक्रमा पछि पुनः घण्टाघरमा आएर समापन गरिएको थियो ।
र्यालीमा वीरगञ्जको लाठगल्ली, श्रीपुर, मुर्ली, छपकैयालगायत क्षेत्रमा रहेका मस्जिदहरुबाट व्यानरसहित हजारौंको संख्यामा मुस्लिम समुदाय सहभागी भएका थिए ।
इस्लामी पात्रो हिजरी सम्वतको रब्बीअव्वल महिनामा साउदी अरबको मक्कामा बिबि आमिनाको कोखबाट हजरत मोहम्मदको जन्म भएको दिनको सम्झनामा जन्म जयन्ती मनाउने गरिन्छ । उनको निधन ६३ वर्षको उम्मेरमा साउदीकै मदिनामा भएको थियो । मोहम्मदको जन्मदिनमा विभिन्न नाअत शरिफ वाचन गर्ने तथा उनका उपदेश र वाणीको स्मरण गर्ने गरिएको जिल्ला समन्वय समिति पर्साका सभापति नेक महम्मद अन्सारीले जानकारी दिए ।
मोहम्मदको सम्झना गरेर मनाइने यो पर्वमा भोजको आयोजना गरेर बालबालिकालाई खुवाउने गरिन्छ । मोहम्मद डेको अवसरमा प्रदेश २ सरकारले आज सार्वजनिक बिदासमेत दिएको छ ।
लामो समयदेखि मुस्लिम समुदायले मुस्लिम आयोग गठन गर्नुपर्ने, मोहम्मद जयन्तीमा सार्वजनिक बिदा दिनुपर्ने, हज कमिटीलाई व्यवस्थित बनाउनुपर्ने, मदरसामा अन्य सरकारी विद्यालय सरह सुविधा दिनुपर्नेलगायत माग राख्दै आएका छन् ।