भरतपुर बाइपास रोड बिस्तारः बिजुलीका पोल सार्ने काम धमाधम सुरु

By purnakhabar

November 21, 2018

५ मंसिर, चितवन । विद्युतका पोल नसारेका कारण सडक विस्तारमा ढिलाई भएपछि विद्युत प्राधिकरणले पोल सार्ने काम तीव्र गतिमा अघि बढाएको छ । विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रले सडक विस्तारमा अवरोध गर्ने पोलहरुको पहिचान गरी सार्ने काम अघि बढाएको प्राधिकरण भरतपुर वितरण केन्द्रका प्रमुख सुरेश महतोले जानकारी दिए ।

सोमवारसम्ममा ३० भन्दा बढी पोल सारिएको छ । करिब ४ किलोमिटर सडकमा ४ सय ५० भन्दा बढी पोल छन् । पोल सारेका ठाउँमा एबीसी केवल राख्ने योजना प्राधिकरणको छ ।

एसियन डि्रलिङ कम्पनीले सडक पोल सार्ने ठेक्का लिएको थियो । विद्युत पोल सार्न र नयाँ किन्नका लागि प्राधिकरणले डिभिजन सडक कार्यालय भरतपुरसँग २ करोड २० लाख रकम माग गरेको छ । पोल सार्ने ज्याला मात्रै ७० लाख हुन आउने प्राधिकरणका प्रमुख महतोले बताए । सडक विभागले रकम दिने लिखित प्रतिवद्धता गरेपछि पोल सार्ने काम धमाधम अघि बढेको उनले बताए । अन्तर सरकारी निकायहरुका वीचमा समन्वय गरेर काम नगर्दा समस्या आउने भएकाले विश्वासमा काम गरिएको उनको भनाइ छ ।

विद्युत र टेलिफोनका पोल, खानेपानीको पाइप र रुख काट्ने कार्य समयमा हुन नसक्दा सडक विस्तारले गति लिन सकेको थिएन । विद्युत प्राधिकरणले अहिले सो स्थानमा ११ मिटर अग्ला पोल गाडेको छ । यसअघि नौ मिटर अग्ला पोल थिए ।

कस्तो हुन्छ सडक ?

नेपाल सरकारको १२ करोड ८१ लाख ८२ हजार रुपैयाँको लागतमा सडक विस्तार गर्न लागिएको हो । सो सडक खण्ड चार लेनको हुनेछ । सडकको एकातर्फ एक दशमलव दुई मिटरका आकाशे ड्रेन, ड्रेनभन्दा बाहिर दुई मिटर फुटपाथ र सडकको बीचमा १ दशमलब पाँचदेखि दुई मिटरको बगैंचा सहितको डिभाइडर हुने छ । डिभाइडरको दुवैतर्फ सात-सात मिटरको कालोपत्रे सडक हुने इञ्जिनियर कोइरालाले जानकारी दिइन् ।

२०७३ पुसमा १५ महिनाभित्र सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरिएको उक्त सडक खण्डको हालसम्म ४५ प्रतिशत काम सम्पन्न भएको छ । डिभिजन सडक कार्यालय भरतपुरले गौरी पार्वती निर्माण सेवासँग ठेक्का सम्झौता गरेको थियो ।

सर्वसाधारणलाई सास्ती

विद्युतको लाइन दैनिक रुपमा काटेर काम गर्दा सर्वसाधारणहरुलाई भने समस्या भएको छ । प्राधिकरण भरतपुर वितरण केन्द्रले सार्वजनिक सूचना नै जारी गरेर पोल सार्ने काम गरेको छ । दैनिक ४ देखि ५ घण्टासम्म सो क्षेत्र वरपर विद्युत आपूर्ति बन्द हुँदै आएको छ । ४ महिना भित्र काम सक्ने योजना प्राधिकरणको छ ।

वाइपास सडकको पूर्वतर्फ ड्रेनको व्यवस्था भएपनि पश्चिमतर्फ छैन । ‘पश्चिम तर्फ ड्रेन कहाँ बस्ने भन्ने पनि पत्तो छैन, इष्टिमेटमा पनि यसबारेमा उल्लेख छैन, धेरै माटो फिलिङ गर्नुपर्ने देखिन्छ,’ प्राधिकरण भरतपुर वितरण केन्द्र प्रमुख महतोले भने, ‘हामीले चाहेर पनि काम चाँडो सक्ने अवस्था छैन, रुखहरुको अवरोध पनि छ, सडक भन्दा जमिनको सतह पश्चिमतर्फ धेरै तल छ । अहिले नै काम हुन सक्दैन ।’

सडक डिभिजन कार्यालयले चार लेनका लागि आवश्यक माटो फिलिङ गर्ने गरी नयाँ इष्टिमेट तयार गरी विभागमा पठाएको छ ।

वन मन्त्रालयले दिएन रुख काट्ने स्वीकृति

सडकमा पर्ने झण्डै ९७ वटा सालसहितका रुख काट्नुपर्ने भएपनि वन मन्त्रालयबाट अहिलेसम्म स्वीकृति आएको छैन । वन मन्त्रालयले उक्त सडक राष्ट्रिय योजना आयोगमा भए-नभएको, राजपत्रमा वाईपास सडक भनेर कहिले उल्लेख भएको जस्ता विषय प्रष्ट नभएको भन्दै फाइल फिर्ता पठाइदिएको इञ्जिनियर गीताञ्जली कोइरालाले जानकारी दिइन् ।

२०७४ चैतमा निर्माण सम्पन्न गर्ने मिति सम्पन्न भएपछि ६ महिनाका लागि मिति थप गरिएको थियो । थपिएको मिति पनि गत असोज १७ गते सकिएको छ । निर्माण कम्पनीले केही भागमा ड्रेन निर्माण गर्न बाँकी राखेको छ भने केही ठाउँमा फुटपाथ निर्माण कार्य अगाडि बढाएको छ ।

भरतपुरको बाक्लो बस्ती भएको वडा नं. १०, ११ र १२ को बीचबाट जाने उक्त सडक विस्तार हुन नसक्दा दुर्घटनाको जोखिम बढ्दै गएको छ । साँघुरो सडकको कारण स्थानीयले समस्या झेल्दै आएका छन् । आकाशे ड्रेन निर्माण गरिएको भए पनि पूरा हुन नसक्दा पानी जमेर लामखुट्टेको संक्रमण बढेको स्थानीयको गुनासो छ ।

अनलाइन खबरबाट