छात्रा खुला भलिबल प्रतियोगिताको उपाधि इर्खु माबिलाई

By purnakhabar

November 20, 2018

४ मंसिर, सिन्धुपाल्चोक । इर्खु खेलकुद विकास समितिले शनिबारदेखि आयोजना गरेको आठौ शुभ दिपावली कप अन्तर माध्यमिक विद्यालय जिल्ला स्तरीय छात्रा खुला भलिबल प्रतियोगिताको उपाधि इर्खु माविले हात पारेको छ ।

मंगलबार घरेलु खेल मैदानमा भएको प्रतिष्पर्धात्मक फाइनल खेलमा इर्खु माविले सिद्धी गणेश मावि सानोसिरुवारीलाई ३-२ को सेटमा हराउँदै उपाधि आफ्नो पोल्टामा पारेको हो ।

निकै रोचक खेलमा सिद्धीगणेशले उपविजेतामा चित्त बुझाउनु परेको छु । सयौ घरेलु सर्मथक र घरेलु मैदानको इर्खु माविले पुरापुर उपयोग गरेको थियो ।

प्रतियोगिताभरको उत्कृष्ट खेलाडी सरस्वती मावि ग्याल्थुमकी रिमा भुजेल घोषित भएकी थिइन भने बेष्ट लिफटर पनि सोही विद्यालयकी सोमो तामाङ घोषित भएकी थिइन् ।

प्रतियोगितामा बेष्ट प्लेयर इर्खु माविकी सुस्मिता श्रेष्ठ, बेष्ट डिफेन्स रोजेश्वरी माविकी सबिना ढुङ्गाना र बेष्ट सर्भिसमा सिद्धी गणेशकी सुस्मिता तामाङ घोषित भएका थिइन ।

प्रतियोगितामा सरस्वती मावि ग्यालथुम तृतीय भएको थियो । प्रतियोगितामा उत्कृष्ट हुने खेलाडी तथा विद्यालयहरुलाई पूर्वसूचना तथा सञ्चार मन्त्री एवम नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेत, हेलम्बु गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पा, शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख गौरी शंकर पाण्डेलगायतले कप, मेडल, प्रमाणपत्र र नगद वितरण गरेका थिए ।

प्रतियोगितामा प्रथम हुने टिमले नगद ३० हजार, द्धितीय हुने टिमले नगद १५ हजार र तृतीय हुने टिमले नगद ५ हजार पुरस्कार पाएका थिए ।

सिन्धुपाल्चोकका विभिन्न सामुदायिक र निजी विद्यालय गरी प्रतियोगितामा १२ विद्यालयको सहभागिता रहेको इर्खु खेलकुद विकास समितिका अध्यक्ष प्रकाश दंगालले जानकारी दिए ।

शुभ दिपावलीको अवसरमा इर्खु खेलकुद विकास समितिले विगत आठ वर्षदेखि भलिबल प्रतियोगिता आयोजना गर्दै आइहरेको छ । आगामी वर्ष पनि यसलाई निरन्तरता दिने अध्यक्ष दंगालले जानकारी दिए ।

अनलाइन खबरबाट