सांसद अधिकारीले गरे ४ करोडका योजना सार्वजनिक

By purnakhabar

November 20, 2018

४ मंसिर, पोखरा । कास्की निर्वाचन क्षेत्र नम्बर १ को स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमका योजनाहरु सार्वजनिक गरिएको छ ।

यस क्षेत्रबाट निर्वाचित सांसद खगराज अधिकारीले मंगलबार पोखरामा पत्रकार सम्मेलन गरी ४ करोड बराबरको स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम सार्वजनिक गरेका हुन् ।

सांसद अधिकारीले प्रतिनिधिसभा, राष्ट्रिय र प्रदेश सभामा प्रत्यक्ष तथा समानुपातिकबाट प्रतिनिधित्व गर्ने सांसदहरु, कास्की निर्वाचन क्षेत्रमा पर्ने रुपा गाउँपालिका, मादी गाउँपालिका, पोखरा महानगरपालिकाका प्रमुख तथा परामर्श समितिका सदस्यहरुको गत कात्तिक २५ गतेको बैठकले २० वटा कार्यक्रमका लागि ४ करोड रुपैयाँ विनियोजन गरेको जानकारी दिए ।

मंगलबार सार्वजनिक गरिएको कार्यक्रम अनुसार रुपा गाउँपालिकामा पर्ने रामकोट रामादी सडकका लागि सबैभन्दा बढी १ करोड विनियोजन गरिएको छ । त्यस्तै सम्पदा मार्ग, ताङतिङ, क्होलासोंथर सडकका लागि ७० लाख, लेखनाथ साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका लागि ५० लाख छुट्याइएको छ ।

यसैगरी पोखरा महानगरपालिका वडा नम्बर २९ र ३० मा पर्ने शिसुवा आदर्शचोक सडकका लागि १५ लाख र पोखरा ३२ मा रहेको राधाकृष्ण बृद्धाश्रम भवन निर्माणका लागि १५ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

सडकमा २ करोड १५ लाख

अन्य कार्यक्रममा भने समान १०÷१० लाख रुपैयाँ विनियोजन गरिएको छ । कार्यक्रम अन्तर्गत सडकमा मात्र २ करोड १५ लाख रुपैयाँ विनियोजन गरिएको छ । कास्की निर्वाचन क्षेत्र नम्बर १ बाट सार्वजनिक गरिएको कार्यक्रममा सडकका लागि ६ वटा कार्यक्रम परेका छन् । जसमा, रामकोट रामादी सडकका लागि सबैभन्दा बढी १ करोड विनियोजन गरिएको छ ।

त्यस्तै सम्पदा मार्ग, ताङतिङ, क्होलासोंथर सडकका लागि ७० लाख, पोखरा महानगरपालिका वडा नम्बर २९ र ३० मा पर्ने शिसुवा आदर्शचोक सडकका लागि १५ लाख, पोखरा १२ मा रहेको ढिकालेथर शिवमार्ग सडक, पोखरा १४ को कदम मार्ग सडक, पोखरा २८ को विजयपुर, सुनपँदेली र सुर्के मैदान सडकका लागि १०÷१० लाख रुपैयाँ विनियोजन गरिएको छ ।

विद्यालयमा ८० लाख

त्यस्तै ८ वटा कार्यक्रम विद्यालय भवन निर्माणका लागि परेको छ । जसमा प्रत्येक विद्यालयलाई १० लाखका दरले ८० लाख विनियोजन भएको छ ।

कार्यक्रम परेका स्कुलहरुमा पोखरा १३ को रतन पाण्डे मावि, पोखरा ३१ मा रहेको आनन्दज्योति मावि, मादी गाउँपालिका वडा नम्बर ९ को हिमालय मावि गोर्जे, मादी ४ को ध्रुव मावि तारकाङ, मादी ३ को सिताराम मावि याङ्जाकोट, मादी १ को अन्नपूर्ण मावि सिक्लेश, विश्व शान्ति मावि देउराली र गाउँफर्क मावि सिद्धलाई पनि १०/१० लाख रुपैयाँ विनियोजन गरिएको छ ।

यसैगरी अन्यमा ४ वटा कार्यक्रम परेका छन् । पोखरा २७ मा रहेको कृषि उपज संकलन केन्द्र तालचोकका लागि १० लाख रुपैयाँ विनियोजन गरिएको सांसद अधिकारीले जानकारी दिए । त्यस्तै, पोखरा ३० मा रहेको भूगोलपार्क व्याडमिन्टन खेल मैदान, पोखरा १० मा सोलार वत्ति जडान र पोखरा २८ मा रहेको स्याङ्खुदी अधिना, भुर्तेल गाउँका लागि १०÷१० रुपैयाँ छुट्याइएको छ ।

अनलाइन खबरबाट