सिकागोको मर्सी अस्पतालमा गोली चल्यो, डाक्टरसहित ४ को मृत्यु

By purnakhabar

November 20, 2018

४ मंसिर, काठमाडौं । अमेरिकाको सिकागोस्थित मर्सी अस्पतालमा एक व्यक्तिले अन्धाधुन्ध गोली चलाउँदा ४ जनाको ज्यान गएको छ ।

स्थानीय समयअनुसार ३ बजे गोली चल्दा ४ जनाको ज्यान गएको हो । ज्यान गुमाउनेमा १ चिकित्सक, १ फर्मास्युटिकल्स सहयोगी, १ प्रहरी अधिकृत र गनम्यान आफैं छन् ।

नाम नखुलेका गनम्यानले ३ जनाको हत्यापछि आफैंलाई गोली हानेको सिकागोका मेयर रहम इमानुयलले पुष्टि गरेका छन् ।

मारिएका महिलामध्ये एक जनासँग गोली चलाउने व्यक्तिको सम्बन्ध रहेको बताइएको छ । तर गोली चलाउने व्यक्तिले ३ जनाको हत्यापछि आफैंलाई किन गोली हाने भन्ने खुलेको छैन । प्रहरीले यसबारे अनुसन्धान भइरहेको जनाएको छ ।

अमेरिकाका लागि गोली चलाउने घटना टाउको दुखाइको विषय बन्दै गइरहेको छ । केही महिनाअघि मात्रै अमेरिकाको एक विद्यालयमा गोली चल्दा कैयनको ज्यान गएको थियो । त्यसपछि व्यक्तिगत हतियार राख्न पाउने नियममा पुनर्विचार गर्नुपर्नेबारे बहस चल्दै आएको छ ।

अनलाइन खबरबाट