४ मंसिर, काठमाडौं । पुरुषहरुको समलिङ्गी सम्बन्ध (गे-सेक्स)मा आधारित उपन्यास लेखेकी एक चिनियाँ लेखिकालाई १० वर्ष जेल सजायँ सुनाइएको छ । लिउ नामकी लेखिकालाई अन्हुई प्रान्तको एक अदालतले १० वर्ष जेल सजायँ सुनाएको हो ।
तिया यी नामबाट समेत चिनिने लिउले हालै ‘अक्युपेशन’ नामको उपन्यास लेखेकी छन् जुन पुरुषहरुको समलिङ्गी सम्बन्धमा आधारित छ ।
लिउ अन्य कामुक उपन्यासको पनि लेखिका हुन् । उनीमाथि अश्लील सामग्री फाइदाका लागि लेखेको र बेचेको आरोप छ । चीनमा प्रोनोग्राफी गैरकानुनी मानिन्छ ।
पछिल्लो उपन्यास अक्युपेशन चीनमा धेरै बिक्री हुन थालेपछि प्रहरीले लिउलाई पक्रेको थियो । चिनियाँ सरकारी समाचार संस्था ग्लोबल टाइम्सका अनुसार लिउको अक्युपेशन र अन्य कामुक उपन्यास ७ हजारभन्दा बढी प्रति बिक्री भएका छन्, जसबाट उनलाई डेढ लाख युआन फाइदा भएको छ ।
बेइजिङ न्यूजका अनुसार लिउले सजायँ छोट्याउन माग गर्दै अदालतमा अपिल गरेकी छन् ।
लिउलाई सुनाइएको सजायँ लामो भएको भन्दै सामाजिक सन्जालमा विरोध भइरहेको छ ।
एक सामाजिक सन्जाल प्रयोगकर्ताले सन् २०१३ को घटना स्मरण गरेका छन्, जसमा एक जना पूर्वअधिकारीलाई बालिका बलात्कारको घटनामा चार वर्ष मात्र सजायँ भएको थियो ।
सामाजिक सन्जाल वीभोमा एक जनाले लेखेका छन्, ‘जो बलात्कारमा दोषी ठहरियो उसलाई १० वर्षभन्दा कम सजायँ भयो, तर, यी लेखिकालाई १० वर्षको सजायँ दिइयो ।’