दिवंगत छोरा प्रकाशलाई सम्झिएर भक्कानिए प्रचण्ड

By purnakhabar

November 19, 2018

३ मंसिर, काठमाडौं । नेकपाले छोरा प्रकाश दाहालको पहिलो स्मृति सभामा प्रचण्ड भक्कानिएका छन् । ललितपुरको खुमलटारमा सोमबार बिहान स्मृति सभा आयोजना गरिएको थियो ।

कार्यक्रममा बोल्ने क्रममा नेकपा अध्यक्ष समेत रहेका प्रचण्डले छोरा प्रकाशको निधनको बेला पार्टी सम्हाल्ने कि घर सम्हाल्ने भन्ने स्थिति आएको र सबैको सहयोगमा दुवै सम्हालेको स्मरण गरे ।

उनले देश, जनता, नेता कार्यकर्ताले साथ नदिएको भए आफ्नो परिवार बिघटन हुनसक्थ्यो भन्दा गला अवरुद्ध भएको थियो । त्यतिबेला उनले आँसु थाम्न सकेनन् । प्रकाश परिपक्व हुँदै गएको बेला असामयीक निधन भएको र त्यसबाट ठूलो क्षति पुगेको प्रचण्डले बताए ।

कार्यक्रमको सुरुदेखि नै प्रचण्ड पत्नी सीता दाहाल भावविह्वल देखिन्थिन् । मन्चमा बसेको बेला सीतालाई छोरीहरुले सम्हालेका थिए ।

कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, सभामुख कृष्णबहादुर महरा, मन्त्रिपरिषदका पूर्वअध्यक्ष खिलराज रेग्मी, राजपा संयोजक महन्थ ठाकुर, राप्रपा अध्यक्ष कमल थापा लगायतका नेताहरुको उपस्थिति थियो । तर, कार्यक्रममा प्रधानमन्त्री ओली र प्रचण्डले मात्र बोलेका थिए ।

कार्यक्रममा प्रचण्डले दिवंगत छोरा प्रकाश र छोरी ज्ञानुको नामबाट खोलिएको प्रज्ञा स्मृति प्रतिष्ठान घोषणा गरेका थिए । कार्यक्रममा प्रकाश दाहालको स्मृतिमा निर्माण गरिएको स्मृति ग्रन्थ पनि सार्वजनिक गरिएको थियो ।

अनलाइन खबरबाट