चाँगुनारायण नगरपालिकामा भोलि सार्वजनिक बिदा

By purnakhabar

November 18, 2018

२ मङ्सिर, भक्तपुर । चाँगुनारायण नगरपालिकाले हरिबोधनी एकादशीमा सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

नगरपालिकाले आफ्नो नगर क्षेत्रभित्रका सरकारी कार्यालय, स्वास्थ्य संस्था, सहकारी, शैक्षिक संस्थालगायतलाई सार्वजनिक बिदाको निर्णय गरेको चाँगुनारायण नगरपालिकाले जनाएको छ ।

विश्वसम्पदा सूचीमा सूचीकृत चाँगुनारायण मन्दिर चार नारायणमध्येको जेठो नारायण भएकाले एकादशीको दिन मन्दिरमा ठूलो मेला लाग्ने हुनाले हरिबोधनी एकादशीको दिन सार्वजनिक बिदाको घोषणा गरेको नगरप्रमुख सोम मिश्रले बताए ।

ठूलो एकादशीलाई ध्यानमा राखी आइतबार नगर प्रमुख मिश्रको नेतृत्वमा प्रदेश सभा सदस्य सरस्वती बाटीसहितको टोलीले चाँगुनारायण मन्दिर परिसरको अनुगमन गरेको छ ।

एकादशीको दिन ठूलो सङ्ख्यामा भक्तजनको आवागमन हुने उक्त स्थानको सरसफाइ, मोटर पार्किङ, भक्तजनका लागि आवश्यक स्वास्थ्य सेवा एवं सहज दर्शनका लागि भइरहेको कार्यको निरीक्षणका लागि अनुगमन गरेको नगरप्रमुख मिश्रले जानकारी दिए । नगरप्रमुख मिश्रले भोलिका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको बताए ।

अनलाइन खबरबाट