गृहमन्त्री बादल र यूएनएचसीआरका एशिया निर्देशकबीच भेटवार्ता

By purnakhabar

November 16, 2018

काठमाडौँ, ३० कात्तिक ।गृहमन्त्री रामबहादुर थापा’बादल’सँग नेपाल भ्रमणमा रहेका शरणार्थीका लागि संयुक्त राष्ट्रसंघीय उच्चायुक्तको कार्यालय (यूएनएचसीआर)का एशिया प्रशान्त क्षेत्र व्युरोका निर्देशक इन्द्रिका रातवत्तेले शुक्रबार शिष्टचार भेट गरेका छन् ।

गृहमन्त्रालयमा भएको सो भेटवार्ता नेपालमा रहेका भुटानी शरणार्थी, तिब्बती शरणार्थी र रोहिङ्यालगायतका शरणार्थीको विषयमा केन्द्रित रहेको थियो ।

भेटमा गृहमन्त्री थापाले नेपालमा रहेका शरणार्थीको पुनर्वास र पुर्नस्थापनाका लागि यूएनएचसीआरले गरिरहेको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा समेत सहयोगले निरन्तरता पाउने विश्वास व्यक्त गरे ।

उनले भुटानी शरणार्थीको तेस्रो मुलुकमा पुर्नस्थापना कार्यक्रम सफल भएको बताउँदै करिब एक लाख भुटानी शरणार्थीहरुलाई सो कार्यक्रममार्फत तेस्रो मुलुकमा व्यवस्थापन गरिएको बाँकी रहेका करिब ६ हजार पाँच सय भुटानी शरणार्थीहरुका सम्बन्धमा छिट्टै समाधान निस्कने विश्वास व्यक्त गरे ।

बाँकी रहेका भुटानी शरणार्थीहरुका समब्न्धा विभिन्न विकल्पहरुबारे छलफल भइरहेको भन्दै सबैभन्दा स्थायी समाधान उनीहरुलाई भुटानमै फर्काउनु रहेको भन्दै त्यसका लागि छिट्टै भुटान सरकारसँग नेपालले छलफल अघि बढाउन लागेको जानकारी दिए । उनले शरणार्थीको अधिकारको विषयमा नेपाल सरकार गम्भीर रहेको बताए ।

निर्देशक रातवत्तेले शरणार्थीका विषयमा नेपालले खेल्दै आएको भूमिका स्रहानीय रहेको टिप्प्णी गरे ।

बाँकी रहेका भुटानी शरणार्थीको समस्या समाधानका लागि नेपाल सरकारसँग मिलेर काम गर्न यूनएनएचसीआर तयार रहेको उनले बताए ।

अनलाइन खबरबाट