Banner News

अभिव्यक्ति स्वतन्त्रता हनन् नगर्न सरोकारवालाकाे आग्रह

By admin

November 15, 2018

कात्तिक २९, विराटनगर । लोकतान्त्रिक राज्यमा मौलिक अधिकार प्राप्त संविधान निर्माण भएर कार्यान्यवनमा आइसकेकोले राजनीतिक आस्थाकै कारण कसैलाई पक्राउ गरेर यातना दिने र अभिव्यक्ति स्वतन्त्रता हनन् गर्न नहुनेमा सरोकारवालाले जोड दिएका छन् ।

क्रान्तिकारी पत्रकार संगठन नेपालले विराटनगरमा बिहीबार आयोजना गरेको मानवअधिकार प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विषयमा अन्तरक्रिया कार्यक्रममा संविधानले प्रत्याभूत गरेका प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतासहित सबै मौलिक हक कार्यान्वयन हुनुपर्नेमा जोड दिइएको हो ।

राष्ट्रिय मानवअधिकार आयोगका प्रदेश निर्देशक मोहनदेव जोशीले नेपालले मानवअधिकार पक्षका विभिन्न १८ वटा अभिसन्धिमा हस्ताक्षर गरिसकेकोले त्यसलाई सरकारले पालना गर्नुपर्ने बताए ।

क्रान्तिकारी पत्रकार संगठनका केन्द्रीय अध्यक्ष प्रकाश डुम्रेले भने आस्थाकै आधारमा नागरिकहरूलाई पक्राउ गरेर जेल हाल्ने, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा बन्देज लगाउने काम राज्यले गरिरहेको बताए ।

नेपाल पत्रकार महासंघ प्रदेश अध्यक्ष विक्रम लुँईटेलले आस्थाको आधारमा नागरिकहरुलाई पक्राउ गर्ने राज्य कानुनी र लोकतान्त्रिक हुन नसक्ने बताए। बिनाहातहतियार स्वतन्त्रतापूर्वक हिँडडुल गर्ने र आफ्नो विचार व्यक्त गर्ने अधिकार सबै नागरिकलाई भएकोले संविधानअनुसार मानव अधिकारको पालना गर्नु राज्य र सरकारको दायित्व हुने उनको भनाइ थियो ।

नेकपा मोरङका संयोजक ऋषि पोखरेलले विद्रोही बनेर अलग अस्तित्व खोज्नुभन्दा पनि सबैले न्याय र समानताका लागि पहल गर्नुपर्नेमा जोड दिए। उनले अधिकारको कुरा गर्दा कर्तव्य पनि भुल्न नहुने बताए ।

कार्यक्रममा पत्रकार महासंघ मोरङका अध्यक्ष बन्धु पोखरेल, नेकपा माओवादी केन्द्रका प्रदेश संयोजक विमल निरौला, अखिल नेपाल शिक्षक संगठन (क्रान्तिकारी) का केन्द्रीय सचिव विकास न्यौपानेसहितले बोलेका थिए ।

क्रान्तिकारी पत्रकार संगठनले २ असोजबाट प्रदेश ५ को दाङबाट मानवअधिकार र प्रेस स्वतन्त्रका लागि देशव्यापी अभियान थालेको जनाएको छ ।

Source link