लागू पदार्थका व्यापारीको लगानीमा गाँजा खेती

By purnakhabar

November 15, 2018

मकवानपुर जिल्लाको थाहा नगरपालिकामा विद्यालय आसपासमा नै गाँजा खेति गरिएको छ । वडा नं. ११ टिस्टुङ खाप्लुङस्थित मनकामना आधारभूत विद्यालय नजिकै लागू पदार्थ सेवन गरेर लडिरहेका मानिसहरु देखिन्छन् । विद्यालयको सय मिटर हाताभित्र सूर्तिजन्य र मदिराजन्य पदार्थ विक्री वितरण गर्न कानूनले बन्देज गरेको भए पनि यहाँ जताततै गाँजा लहलहाइरहेको देख्न सकिन्छ ।

११ र १२ नं वडाको अधिकांश जमीनमा अन्य बालीसँगै गाँजा खेति देखिन्छ । मकैको बोटले गाँजा खेती छोपिने हुँदा मकै छर्दा बीचबीचमा गाँजा लगाइन्छ । अहिले मकै उठाएपछि अधिकांश जमीन गाँजामय देखिएको छ । त्रिभुवन राजमार्गसँग जोडिएको ११ र १२ नं वडामा गाँजा खेति मौलाएको देेखिन्छ ।

११ नं वडाका अध्यक्ष किरणमान बल किसानहरुले औषधि र अचारका लागि गाँजा लगाएको बताउँछन् । तर, यसलाई सकेसम्म निरुत्साहित गरिने उनले बताए । त्यस्तै, १२ नं वडाका अध्यक्ष मानबहादुर स्याङतानले गाँजा खेती न्युनीकरणका लागि अब जनचेतना अभियान चलाउने बताए ।

थाहा नगरपालिका वडा नं ८ को पनि अधिकांश जमीनमा गाँजा मौलाएको छ । तर, वडा अध्यक्ष टीकाराम रुम्बा भने अहिले चेतना आएर किसानहरुले गाँजाको ठाउँमा तरकारी खेती गर्न थालेको बताउँछन् ।

‘पहिले त यहाँ गाँजा खेती रोक्न आउने माओवादीहरुलाई समेत किसानहरुले लखेटेको सम्झँदै उनी भन्छन्, ‘आगामी दिनमा किसानहरुसंग सहकार्य गरेर यसलाई निमिट्यान्न पार्ने छौं ।’

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख बुद्धिराज गुरुङ प्रहरीले सूचना पाउनासाथ विभिन्न ठाउँको गाँजा खेती नष्ट गरेको बताउँछन् । तर, थाहा नगरपालिकामा गाँजा खेती मौलाएको मुख्य सडकबाट जसले पनि सजिलै देख्न सक्छ ।

यो खेती विषेशतः लागू पदार्थका ब्यापारीहरुको लगानीमा हुने भएकाले किसानहरुमाथि धरपकड वा खेती नष्ट गरेर मात्रै समस्या समाधान हुने देखिँदैन ।

(मकवानपुर निवासी श्रेष्ठ सामाजिक अभियन्ता हुन्)

अनलाइन खबरबाट