Uncategorized

नदी अतिक्रमण गरी तीनतले घर !

२९ कात्तिक, कञ्चनपुर । शुक्लाफाँटा नगरपालिकाको झलारी बजार भएर बग्ने सनवोरा नदी जग्गा कब्जा गरी अवैधरूपमा भौतिक संरचना निर्माण भइरहेको छ ।

नदीको किनारामै पर्खाल निर्माण गरी घर निर्माण भैरहँदा समेत सम्बन्धित निकाय मौन छ । नदीको बहाव क्षेत्रलाई साँघुरो पारेर घर निर्माण हुन थालेपछि वर्षायाममा बजार क्षेत्र डुबानमा पर्ने देखिएको छ ।

नगर क्षेत्रको मुख्य बजार झलारीसँग जोडिएको सुनवरा नदी किनारा लामो समयदेखि अतिक्रमणको चपेटामा पर्दै आए पनि नियन्त्रणको प्रयास नहुँदा अतिक्रमणकारीको मनोबल बढेको झलारी पिपलाडी उद्योग वाणिज्य सङ्घका महासचिव दीपकराज भट्टले बताए ।

उनले भने, ‘नदीनाला अतिक्रमणले प्राकृतिक प्रकोप बढ्ने खतरा त छ नै, भविष्यमा मानवीय क्षति हुने प्रवल सम्भावना बढेर गएको छ ।’ नदी अतिक्रमण गरेर झलारी बजारक्षेत्रमा मात्रै दुई दर्जन बढी एकदेखि तीन तलेसम्म घर निर्माण भएका छन् ।

सरोकारवाला निकायले सार्वजनिक जग्गाको संरक्षणमा चासो नदिँदा अतिक्रमण भइरहेको स्थानीयवासी वीरबहादुर बोहराले बताए ।स्थानीय तहमा जनप्रतिनिधि आएसँगै अतिक्रमण बढेको उनको भनाइ थियो ।

सार्वजनिक क्षेत्रको संरक्षण र अतिक्रमण भएको क्षेत्र खाली गराउन झलारी बजारका व्यापारी र स्थानीयवासीले शुक्लाफाँटा नगरपालिकासँग माग गरेपछि नगर प्रमुख दिलबहादुर ऐरले नगरपालिका क्षेत्रमा रहेका नदीनालाको अनुगमन गरेर अतिक्रमण हटाउने बताए ।

‘सार्वजनिक जग्गा कसैले पनि कब्जा गर्न पाउँदैन, अतिक्रमण गर्नेलाई कानूनी कारवाही हुन्छ’,  उनले भने ।

शुक्लाफाँटा नदीनाला र खोला किनारको मध्यविन्दुदेखि ३० मिटरमा कुनै पनि भौतिक संरचना बनाउन नपाइने नियम रहेको र सार्वजनिक जग्गा संरक्षणको जिम्मेवारी वडा प्रमुखको रहेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रघुनाथ अवस्थीले बताए ।

नदीको जग्गा कब्जा गरेर बनाइएका भौतिक संरचनको नक्सापाससमेत नहुनेमा उनले जोड दिए । झलारी बजारदेखिका बाह्य ग्रामीण क्षेत्रका नदीका बगरसमेत कब्जा गरी खेती गर्ने कामसमेत तीव्ररूपमा बढेको पाइएको छ ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *