वामपन्थी नेता जगतबहादुर श्रेष्ठलाई नागरिक अभिनन्दन

By purnakhabar

November 14, 2018

२८ कात्तिक, चितवन । ०१५ सालको आम निर्वाचनमा उत्तरी गोरखामा नेकपाबाट उम्मेदवार बनेका जगतबहादुर श्रेष्ठको बुधबार चितवनको नारायणगढमा नागरिक अभिनन्दन गरिएको छ । ९० वर्षीय श्रेष्ठलाई उनको निवास पूल्चोकबाट बाजागाजासहित नगर परिक्रम गराएर अभिन्दन गरिएको हो ।

गोरखा जिल्लाका कम्युनिस्ट पार्टी निर्माणमा महत्वपूर्ण योगदान गरेका श्रेष्ठ कांग्रेसका तत्कालीन नेता कृष्णप्रसाद भट्टराईका विरुद्ध नेकपाबाट उम्मेदवार बनेका थिए । श्रेष्ठ उम्मेदवार भएको निर्वाचनमा नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठ जौवारी केन्द्रमा निर्वाचनको एजेन्ट बसेका थिए ।

२०१० सालमा विद्यार्थी आन्दोलनमा लागेर २०११ सालमा श्रेष्ठले नेपाल कम्युनिस्ट पार्टीको सदस्यता लिएका थिए । अझैं पनि सक्रियता पूर्वक राजनीनिक चिन्तन र लेखनमा श्रेष्ठ लागिरहेका छन् ।

उनी कवि र निबन्धकारसमेत हुन् । आफ्नो विचार र सर्वहारावादी आचरण अंगालेका श्रेष्ठले नेपालको कम्युनिष्ट आन्दोलनमा पुर्‍याएको योगदानको कदर गर्दै नागरिक अभिनन्दन गरिएको मुल समितिका संयोजक यमुनाप्रसाद न्यौपानेले जानकारी दिए ।

‘जगतवहादुर श्रेष्ठ नेपालको सिंगो कम्युनिष्ट आन्दोलनको ज्यूँदो इतिहास हो, उहाँसँग इतिहास साछी छ, शोषित, पीडित, श्रमजीवि जनताको पक्षमा उहाँ जहिलेपनि लाग्नुभयो’ संयोजक न्यौपानेले भने, ‘९० बर्षको उमेरमा पनि उहाँको राजनीतिक सक्रियता यथावत छ उहाँबाट सिक्नुपर्ने धेरै कुरा छन्।’ श्रेष्ठका ‘जगत श्रेष्ठका निबन्धहरु’ र ‘मेरो धरती’ नामक कविता संग्रह प्रकाशित छ ।

अनलाइन खबरबाट