कलंकीको ‘नक्कली स्याम्पो र मसला उद्योग’ मा प्रहरी छापा, ४ पक्राउ

By purnakhabar

November 13, 2018

२६ कात्तिक, काठमाडौं । काठमाडौं प्रहरी परिसरले कलंकीस्थित ‘नक्कली स्याम्पो र मसला उद्योग’ मा छापा मारेर ४ जनालाई पक्राउ गरेको छ ।

मंगलबार दिउँसो भारतीय ब्राण्डको हेयर एण्ड सोल्डर स्याम्पो र बीएमसी मसला बनाउने नक्कली उद्योगमा छापा मारेर उनीहरुलाई पक्राउ गरेको हो ।

परिसरका प्रहरी निरीक्षक अनिल ठकुरीको नेतृत्वमा गएको टोलीले नक्कली उद्योगमा छापा मारेको थियो ।

परिसरका प्रमुख एसएसपी वसन्त लामाले छापा मारेर ठूलो परिमाणमा स्याम्पो र मसला बरामद गरिएको बताए ।

‘यहाँ मेसिन नै राखेर भारतीय ब्राण्डको नक्कली स्याम्पो र मसला बनाइँदो रहेछ’, उनले अनलाइनखबरसँग भने, ‘दुई जना घरधनी श्रीमान्–श्रीमती र थप दुई कामदारलाई नियन्त्रणमा लिएका छौं ।’

हाल आफू पनि घटनास्थलमै रहेको बताउँदै लामाले भने, ‘थप अनुसन्धान गरिरहेका छौं ।’

यसअघि प्रहरीले बालाजुमा रहेको नक्कली गुट्खा उद्योगमा पनि छापा मारेर मुद्दा चलाएको थियो ।

अनलाइन खबरबाट