गुल्मीमा पहिलो पटक पुग्यो अटो रिक्सा

By purnakhabar

November 13, 2018

२७ कात्तिक, गुल्मी । गुल्मीमा पहिलो पटक अटो रिक्सा सञ्चालनमा आएको छ । जिल्लाको सदरमुकाम तम्घास बजारलाई लक्षित गरी अटो रिक्सा सञ्चालमा ल्याइएको हो । तम्घास बजारभित्र र नजिकैका स्थानहरुमा सञ्चालन गर्ने गरी झण्डै एक दर्जन अटो रिक्सा सञ्चालनमा ल्याइएको छ ।

तम्घास बजारभित्रका बिभिन्न स्थानहरुमा पुग्न र सामानहरु ओसारपसार गर्नको लागि अरु सवारीसाधानहरु सञ्चालन नहुँदा यात्रुहरुलाई निकै समस्या थियो । तर, हालै केही दिन यता एकै पटक धेरै अटो रिक्साहरु सञ्चालनमा आएसँगै यात्रुहरुलाई सहज भएको छ ।

तम्घास बजारमा सामान किनेसँगै बजारका बिभिन्न स्थान तथा सवारीसाधन छुटने स्थानसम्म पनि लेबर खोजेर लैजानु पर्ने बाध्यता थियो । कुनै पनि स्थानबाट तम्घास बसपार्कमा सामग्रीसहित झरेसँगै घर, होटलहरु तथा पसलहरु सम्म पुग्न पनि सोही माध्यम अपनाउनु पर्ने बाध्यता थियो ।

अहिले तम्घास बजारभित्र र नजिकैका स्थानहरुमा पुग्नको लागि अटो रिक्साले सहजता दिलाएको छ । तम्घास बजारमा अटो रिक्सा सञ्चालनमा आएसँगै स्थानीयले खुसी व्यक्त गरेका छन् ।

‘तम्घास बजारभित्र ठूला सवारीसाधनले चााहेको स्थानसम्म नपुर्‍याउने हुँदा सामग्रीसहित यात्रुलाई असहजता थियो,’ तम्घासमा व्यवसाय गर्दै आएका दुर्गाप्रसाद भण्डारीले भने, ‘अटो रिक्सा सञ्चालनमा आएपछि सहजता दिलाएको छ ।’

पसलमा समान किनेपछि भनेको स्थानमा गाडिले सामान नउठाउने गर्दा लेबरबाट गाडि छुट्ने स्थानसम्म सामान लैजानु पर्ने बाध्यता थियो तम्घास उदिनढुङ्गामा व्यवसायी गर्दै आएका झबि पाण्डेयले भने, ‘अटो रिक्सा सञ्चालनमा आएपछि निकै फाइदा दिलाएको छ ।’ तम्घास बजारभित्र यसको व्यवस्थित तरिकाले निश्चित भाडा दर तोकेर सञ्चालनमा ल्याउनु पर्ने बताए ।

चारजना बोक्न सक्ने क्षमताको अटो रिक्सा पेट्रोलमार्फत चल्छ । तम्घास बजारभित्र र बजार बाहिर स्थानका आधारमा ३० रुपैयाँ देखि ७ सय रुपैयाँसम्ममा यात्रुहरु आवतजावत गराएको अटो रेक्सा चालकहरुले बताएका छन् ।

अनलाइन खबरबाट