हवल्दार, पुजारी हुँदै रिक्साचालक बनेका पण्डित बा

By purnakhabar

November 12, 2018

२६ कात्तिक, सिमरा । बाराको सिमरा आसपासमा करिब १ सय ई रिक्साहरु चल्छन् । तिनै रिक्साहरुको भिडमा सधैंजसो देखिने अनुहार हो सिमरा औराहाका ६२ बर्षे प्रेमचन्द्र लम्साल । निधारमा सेतो चन्दन टिका र पहेँलो बस्त्रमा चालकहरुको लाममा उनी भिन्नै देखिन्छन् ।

२०४२ सालमा राजधानीबाट बारामा बसाई सरेका लम्सालका जीवन भोगाइका अनेकन अनुभवहरु छन् । स्कुले शिक्षा ३ कक्षासम्ममात्र पढेका उनले १३ बर्षको उमेरमा गुरुकुलमा बसेर ६ महिना कर्मकाण्ड ज्ञान नै उनको औपचारिक शिक्षा हो ।

उनी १६ बर्षकै उमेरमा २०३० सालतिर नेपाल प्रहरीमा जागीरे भए । सिपाहीबाट हवल्दारसम्म भएर उनले ३८ सालतिर जागीर छाडे ।

८ बर्ष प्रहरीमा जागीर खाएका लम्साल प्रहरी जागीरबाट विरक्तिएर भारततिर लागेको उनी सुनाउँछन् । प्रहरी सेवामा टिक्न सकिएन, ८ बर्ष काम गरेर हवल्दारसम्म भएको थिएँ’, उनी भन्छन्, ‘पछि भारततिर गएँ, तर उता पनि सुखचाहिँ भएन ।’

२५ बर्षको उमेरमा श्रमका लागि भारत गएका लम्सालले आफ्नो जीवनको महत्वपूर्ण १३ बर्षसम्म उतै सेक्युरिटी गार्डमा बिताए । पछि जागीर छाडेर नेपाल फर्किएका उनले आफ्नो परिवारलाई राजधानीबाट बाराको कोल्हबी बसाई सारेर ल्याए ।

उनका छोराहरु कमाउने भइसकेका थिएनन् । दुई छाक जोहोका लागि उनले गाउँमै किराना पसलदेखि हार्डवेयर पसलसम्म चलाए । यहाँ पनि उनले आफूलाई टिकाउन सकेनन् र २०५७ सालतिर बारा कोल्हबीबाट बसाई सरेर औराहा आइपुगे ।

पछि उनी औराहको एक प्रसिद्ध कृष्ण प्रणामी मन्दिरको पुजारी हुन पुगे । १३ बर्षको उमेरमा गुरुकुलमा बसेर अध्ययन गरेको शिक्षालाई उनले जीवनको आधा शताब्दीपछि प्रयोगमा ल्याउने अवसर पाए ।

मन्दिरको पुजारी भएदेखि उनी ‘पण्डित बा’ नामले चिनिन्छन् । मन्दिरमा ७ बर्ष पुजारी भएर सेवा गरेका लम्सालले एक बर्ष अघिदेखि ईरिक्सा चलाउन थालेका छन् । उनका आँखामा मन्दिरका मानिसदेखि रिक्साका यात्रुसम्म सबै भक्तजन हुन् ।

‘मन्दिरमा छँदापनि सेवा नै गरेँ, अहिले पनि सेवा नै गरिरहेको छु’, उनी भन्छन्, ‘मेरा लागि सबै भक्तजन, उनैको सेवाको दानबाटै रोजीरोटी चलाउँछु ।’

रिक्सा चढ्न आउने जो कोहीलाई पनि भाडा यति उती लाग्छ भन्ने उनको बानी छैन । उनले यात्रुलाई गन्तब्यमा पु¥याएपछि भन्ने गरेका छन् ‘छैन भने पर्दैन, छ भने जति दिँदा पनि हुन्छ ।’

उनले यात्रुलाई गन्तव्यमा पुर्‍याएवापतको दान झैं भाडा लिन्छन् र पनि उनले दैनिक १ हजार ५ सय देखि २ हजार रुपैयाँसम्म कमाएर बेलुका घर पु¥याउँछन् ।

पेसा र कर्म सानो ठूलो हुँदैन भन्ने गतिलो उदाहरण बोकेका लम्सालले उमेरमा विदेश जाने नेपाली युवालाई पैसा नेपालमै छ भन्ने सन्देश दिन पनि चाहन्छन् । उनका श्रीमती, दुई छोराहरु छन् र दुबैको नातीनातीनाहरु पनि छन् । जेठो छोरो र बुहारी दुुबै बहिरा छन् । जेठो छोरो खानेपानी समितिमा जागीरे छन् । कान्छो छोरो पनि एक उद्योगमा सुरक्षा गार्डमा रोजगारी गर्छन् ।

तर लम्साल आफ्नो बाहुबल चलेसम्म छोरानातिको कमाई खान नपरोस् भन्ने चाहन्छन् । ‘पहिले त साह्रै दुख थियो, अहिले त दुबै छोरा जागीरे छन’्, उनी सुनाउँछन्, ‘आफूलाई बुढो कमजोर जस्तो महशुुस भएको छैन, अझै २० बर्षसम्मै रिक्सा चलाउन सक्नु जस्तो लाग्छ ।’

अनलाइन खबरबाट