रित्तो गाग्री ठटाउँदै प्यूठानीको देउसी

By purnakhabar

November 11, 2018

२५ कात्तिक, प्यूठान । तिहारको बेला देउसी भैलो खेल्न मादल, खैंजडी, मुरली बोकेर गाउँघरमा डुलेको दृष्य त तपाईंले देख्नु भएकै होला तर, रित्तो गाग्री बोकेर देउसी भैलो खेलेको भने सायद देख्नु भएको छैन होला ।

प्युठानमा एउटा देउसी भैलो टोलीमा यस्तै नौलो दृश्य देखियो । प्यूठान रस्पुरकोटका युवा, युवतीहरु रित्तो गाग्री बोकेर देउसी भैलो खेले ।

प्युठानको मल्लरानी गाउँपालिका वडा नं. ३ रस्पुरकोटमा खानेपानीको दुःख छ । सरकारी बजेट आउला र खानेपानीको सुविधा होला भन्ने आश मरिसक्यो । त्यसैले देउसी भैलो खेलेर संकलन गरिएको रकमबाट खानेपानीको समस्या समाधान गर्न गाउँले जुटेका छन् ।

त्यसैले उनीहरु देउसीमा पनि मादल, मुरली, मुजुरासँगै रित्तो गाग्री पनि बोकेर घर आँगनमा पुगे । ‘वर्षौंदेखि खानेपानीको समस्या ज्यूकात्यूँ छ’ स्थानीय युवराज पौडेलले भने, ‘कसैको ध्यान नगएपछि भैलो खेलेरै सहयोग संकलनमा लागेका छौं ।’

भैलोबाट संकलित रकमबाट गाउँमा खानेपानी योजना शुरु गर्ने योजना रहेको उनले बताए ।

‘एक घर, एक गाग्रो पानी’को भरमा दैनिकी

रस्पुरकोटका करिब चार सय घरपरिवारले खानेपानीका लागि दुःख व्यहोर्दै आएका छन् ।

भएका मूलहरुबाट सामान्य सार्वजनिक धाराहरु निर्माण गरिए पनि त्यसले ६ महिना पनि धान्दैन । गाउँमा रहेका तीन वटा इनारबाट गाउँलेले प्रत्येक दिन ‘एक घर, एक गाग्रो पानी’को भरमा दैनिकी चलाउँदै आएका छन् । एक गाग्रो पानी भर्न पनि रातभर लाइनमा बस्नु पर्ने बाध्यता छ ।

पानीकै कारण कतिपयले गाउँ नै छाडेका छन् । ‘बसाइसराइको दर पनि बढ्दो भएकाले गाउँको विकासका लागि पानी अपरिहार्य भएको छ,’ स्थानीयबासी कृष्णराज पाण्डेयले भने ।

खानेपानी सुविधाका लागि स्थानीय सरकार उदासिन भएको स्थानीयको आरोप छ । नेताहरुले बाटो मात्रै खनाउने तर खानेपानीको सुविधा पुर्याउनेतर्फ ध्यान नदिने गरेको स्थानीयको गुनासो छ । रस्पुरकोटको विकास योजना स्थानीयको माग अनुरुप नभएको उनीहरुको भनाइ छ ।

त्यसैले ‘चौरपानी खानेपानी फाउण्डेसन’ स्थापना गरी झिमरुक नदीको पानी बस्तीसम्म ल्याउने योजना अघि बढाउन स्थानीयबासी कस्सिएका छन् । तर, भैलोबाट २५ हजार रुपैयाँ मात्र संकलन भएको र यो रकमबाट खानेपानीको योजना सफल नहुने भएपछि उनीहरु थप चिन्तित छन् ।

अनलाइन खबरबाट