छुट्टियो निमा र दावाको कलेजो, पहिलोपटक एक्लाएक्लै सास फेरे

By purnakhabar

November 10, 2018

मेल्बर्न । अष्ट्रेलियाको मेल्बर्नमा छातीको तल्लो भाग जोडिएर जन्मिएका भुटानी जुम्ल्याहा बच्चीको शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको छ ।

अष्ट्रेलियन संचार माध्ययमहरुमा जनाइए अनुसार यी जुम्ल्याहा बच्चीहरुको छातिको तल्लो भागदेखि पेल्भिसको माथिल्लो भाग जोडिएको थियो भने कलेजो एउटै थियो ।

मेल्मबर्नको रोयल चिल्ड्रेन्स हस्पिटलमा शुक्रबार विहान शल्यक्रिया सफल भएपछि १४ महिने जुम्ल्याहा निमा र दावा पेल्देनले पहिलो पटक एक्लाएक्लै सास फेरेको संचार माध्यमहरुमा जनाइएको छ ।

शल्यक्रियामा पेडियाट्रिक सर्जन जो क्रामेरी को नेतृत्वमा चार सर्जन सहित १८ जना डाक्टर र विशेषज्ञहरुको सहभागिता थियो ।

बच्चीहरु शल्यक्रियाको लागि शारीरिक रुपमा पुरै तयार नभएको भन्दै चार हप्ता अगाडि गर्ने भनिएको शल्यक्रिया नोभेम्बर ९ का लागि तोकिएको थियो ।

शल्यक्रिया पश्चात दुबै बच्चाहरुको स्वास्थ्य सामान्य रहेको र केही दिन डाक्टरहको विशेष निगरानीमा राखिने डाक्टर क्रामेरीले जानकारी दिए । ‘हामीलाई थाहा थियो कि कलेजो छुट्याउन सकिन्छ र बिना कुनै उच्च रक्तश्राव हामीले कलेजोलाई छुट्याउन सफल भयौं,’ डा क्रामेरीको भनाई उद्दृत गर्दै एबीबीले लेखेको छ ।

‘म उनीहरुको शरीर छुट्टिएको हेर्न चाहन्छु …, दुर्इ जनामध्ये एक जना गुमाएपनि बाँचेको बच्चाप्रति खुशी हुनेछु,’ शल्यक्रिया हुनुअघि दुई बच्चीकी आमा भुमु चांमुले हेराल्ड सन न्यूजसँग भनेकी थिइन । तर, अहिले दुबै जनालाई सकशुल देख्दा उनी र उनका परिवार झनै खुशी भएको हेराल्ड न्युजले लेखेको छ ।

अनलाइन खबरबाट