देवकोटाको ११० औं जन्मजयन्ती मनाइयो

By purnakhabar

November 07, 2018

२२ कातिक, काठमाडौं । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११० औं जन्मजयन्ती बुधबार मनाइएको छ । नेपाल सांस्कृतिक सङ्घद्वारा आयोजित कार्यक्रममा साहित्यकार रमा शर्माले १० वर्षमै साहित्य रचना गरेर छोटो अवधिमा नेपाली साहित्यलाई हालको गौरव गर्ने अवस्थामा पुर्‍याएको बताइन् ।

अङ्ग्रेजीको बोलबाला भएको यस युगमा नेपाली भाषाको पुनरुत्थान गर्न देवकोटा जस्ता मान्छे फेरि चाहिएको उनको भनाइ छ । शर्माले २०१० मा भानुभक्तको पहिलो शालिक राजा महेन्द्रले शिलान्यास गर्दा महाकवि देवकोटा पनि उपस्थित रहेको उनले बताइन् ।

सांस्कृतिक सङ्घका अध्यक्ष गोविन्ददेव पन्तले भारतीय विद्वान राहुल सांकृत्यायन नेपाल आउँदा देवकोटालाई भगवान् बुद्धपछिको ठूलो व्यक्ति भनेको स्मरण गरे । उनले देवकोटा भारतका कविहरु पन्त, प्रसाद र निराला तीनजना संयुक्तभन्दा पनि ठूला कवि रहेको मूल्याङ्कन गरेको बताए  ।

कार्यक्रममा कविहरु रमेश खकुरेल, कोषराज न्यौपाने, अच्युतरमण रेग्मी, भूवनहरि सिग्देल, रमा शर्मा, अनुराधा थापा, विपुल सिजापति, भाग्यशाली अधिकारी, रत्ननिधि रेग्मी, इशा शाह, प्रा डा भीमदेव भट्ट, प्रा डा मोहनप्रसाद लोहनी, बैरागी जेठा, प्रमोद स्नेही, गिरिराज जोशी, विष्णु थिङ आदिले कविता वाचन गरेका थिए ।

कार्यक्रममा सङ्घले श्रीमती इशा शाह र गिरिराज जोशीलाई उनीहरुको काव्यिक योगदानका लागि १० हजार रुपैयाँ राशीको देवकोटा काव्यिक पुरस्कार प्रदान गरिएको थियो । सो पुरस्कारका लागि कवि रमेश खकुरेलले रकम उपलब्ध गराएका थिए ।

अनलाइन खबरबाट