काठमाडौंमा राति १० बजेपछि देउसी भैलो खेल्न नपाइने

By purnakhabar

November 05, 2018

१९ कात्तिक, काठमाडौं । काठमाडौंमा तिहारका बेलामा राति १० बजेसम्म मात्र देउसी भैलो खेल्न पाइने भएको छ ।

जिल्ला प्रशासन कार्यालय र महानगरीय प्रहरी परिसरले १० बजेसम्म मात्र देउसी भैलो खेल्न पाउने गरी समय तोकेका हुन् । त्यसभन्दा बढी समय देउसी भैलो खेलेमा कारबाही गरिने प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले जानकारी दिए ।

देउसीभैलो खेल्ने बाहनामा राति आपराधिक गतिविधि पनि हुन सक्ने आशंका गर्दै प्रशासन र प्रहरीले समय निर्धारण गरेका हुन् । ‘तिहारमा देउसीभैलो खेल्न राति १० बजेसम्मको समय निर्धारण गरेका छौं, चाडपर्वको मर्यादा कायम राखेर देउसी भैलो खेल्न अनुरोध गरेका छौं, त्यसलाई आपराधिक बनाउने, हुलदंगा गर्ने, विस्फोटक पदार्थ पड्काउने जस्ता गतिविधि स्वीकार्य हुन्न’ उनले भने ।

रुपन्देहीमा ९ बजेसम्म

तिहारका अवसरमा रुपन्देहीमा ९ बजेपछि देउसी भैलो खेल्न नपाइने भएको छ । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले सोमबार एक विज्ञप्तिमार्फत देउसी भैलो जस्ता सांस्कृतिक कार्यक्रम ९ बजेसम्म मात्र खेल्न र त्यसपछि नखेल्न निर्देशन दिएको हो ।

जिल्ला प्रशासनले जुवातास नखेल्न र पटाका नपड्काउन पनि निर्देशन दिंदै उल्लंघन गरेमा कारवाही गर्ने स्पष्ट पारेको छ । तिहारमा रकम संकलनका लागि विभिन्न क्लब, युवा समूह, आमा समूह, संघसंस्थाले रातभर देउसी भैलो खेल्ने परिपाटी रहँदै आएको छ ।

अनलाइन खबरबाट