आफ्नो मालिकको शोकमा रहेको लेष्टर सिटीको जित

By purnakhabar

November 04, 2018

१८ कात्तिक, काठमाडौं । मालिक भिचाई श्रीभद्नाप्रभाको हेलिकप्टर दुर्घटनामा निधन भएपछि शोकमा रहेको लेष्टर सिटीले इंग्लिस प्रिमियर लिग फुटबलमा जित हात पारेको छ ।

लेष्टर सिटीले शनिबार राति भएको खेलमा कार्डिफ सिटीलाई १–० गोलअन्तरले पराजित गरेको छ । लेस्टरको जितमा डेमराई ग्रेयले गोल गरे । उनकै निर्णायक गोलमा मालिकको निधनपछि शोकमा रहेको सिटीले जित निकालेको हो ।

पहिलो हाफमा दुवै टिमले गोलरहित बराबरी खेलेका थिए । तर दोस्रो हाफमा लेष्टरले उत्कृष्ट प्रदर्शन गर्दै जित निकाल्यो । लेष्टरका लागि खेलको ५५ औं मिनेटमा ग्रेयले गोल गरेका थिए । बाँकी समयमा दुवै टिमले गोल गर्न नसकेपछि लेष्टर सिटीले कार्डिफ सिटीलाई १–० गोलले पराजित गरेको हो ।

आइतबार राति इंग्लिस प्रिमियर लिग फुटबलमा वेष्टह्यामविरुद्धको खेल हेरेर फर्किने क्रममा लेष्टर सिटी मालिकसहित ५ जनाको मैदान बाहिर हेलिकप्टर दुर्घटनामा मृत्यु भएको क्लबले पुष्टि गरेको थियो । मृत्यु हुनेमा भिचाई श्रीभद्नाप्रभासहित दुईजना कर्मचारी, हेलिकोप्टरका चालक र एकजना यात्रु रहेका थिए ।

शनिबार राति नै भएका अन्य खेलमा टोटनह्यामले वोल्भसलाई ३–२ गोलअन्तरले पराजित गरेको छ । त्यस्तै, वेष्ट हामले बर्नेलीलाई ४–२ गोलअन्तरले पराजित गर्दा एभर्टनले ब्रिगटोनलाई ३–१ र न्युक्यास्टलले वाटफोर्डलाई १–० गोलअन्तरले पराजित गरेका छन् ।

अनलाइन खबरबाट