भागबन्डा नमिलेर गण्डकीमा गाउँपालिका महासंघको अधिवेशन स्थगित

By purnakhabar

November 03, 2018

१७ कात्तिक, पोखरा । भागबन्डा नमिलेपछि गाउँपालिका राष्ट्रिय महासंघ गण्डकी प्रदेशको अधिवेशन स्थगित भएको छ ।

कास्कीको पर्यटकीय गाउँ ताङतिङमा शुक्रबारदेखि सुरु अधिवेशन कांग्रेस र नेकपाको भागवण्डा नमिलेपछि शनिबार स्थगित भएको हो ।

अधिवेशनले नयाँ नेतृत्व चयन गर्दै शनिबार ताङतिङ घोषणापत्र जारी गर्ने कार्यक्रम थियो । तर, महासंघ नेतृत्वमा पार्टीगत कुरा नमिलेपछि शनिबार बिना निश्कर्ष अधिवेशन स्थगित भएको हो । कांग्रेस र नेकपा दुबै पार्टीका तर्फबाट नेतृत्वमा दाबी थियो । ठूलो पार्टीबाट अध्यक्ष बन्ने महासंघको विधानमा ब्यवस्था छ ।

विधानअनुसार प्रदेशका स्थानीय तहमा कांग्रेस ठूलो पार्टी बनेपछि कांग्रेसका ईश्वर पाण्डे संयोजक र तत्कालीन एमालेका सहसंयोजक तोकिएको थियो । महासंघको पहिलो अधिवेशनमार्फत नयाँ समिति नेतृत्वमा नेकपा र कांग्रेस दुबै पार्टीको दाबी थियो ।

तत्कालीन एमाले र माओवादी एकतापछि नेकपा ठूलो पार्टी बनेको भन्दै नेतृत्वमा दाबी गर्‍यो भने कांग्रेसले पनि दाबी नछोडेपछि अधिवेशन नै स्थगित भएको हो ।

‘अधिवेशनमार्फत नयाँ नेतृत्व चयन गर्न र ताङतिङ घोषणापत्र जारी गर्ने योजना दुबै पार्टीको अडानका कारण पूरा भएन,’ मादी गाउँपालिकाका अध्यक्ष वेदबहादुर गुरुङले भने, ‘घोषणापत्र सबै तयार थियो तर जारी नै हुन पाएन ।’

गण्डकी प्रदेशमा ५८ गाउँपालिका छन् । गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष र एक जना कार्यपालिका सदस्यले निर्वाचनमा भाग लिन पाउने महासंघको विधानमा छ । २९ गाउँपालिकाको अध्यक्ष र २५ गाउँपालिका उपाध्यक्ष कांग्रेसले जितेको थियो । २५ गाउँपालिका अध्यक्ष र २७ जना उपाध्यक्ष तत्कालीन एमालेले जितेको छ । तत्कालीन माओवादीले ३ अध्यक्ष र ८ उपाध्यक्ष जितेको थियो । जनमोर्चाको १ गाउँपालिका अध्यक्ष र २ उपाध्यक्ष छन् ।

अध्यक्ष र उपाध्यक्ष कांग्रेसका ५४, एमाले माओवादी एकतापछि बनेको नेकपाको ५७ जनमोर्चा ३ र स्वतन्त्र २ गरी १ सय १६ जना छन् भने एक जना सदस्य गाउँपालिका अध्यक्षले आफ्नो हिसाबले ल्याएका थिए ।

गण्डकीमा कांग्रेसलाई अध्यक्ष, उपाध्यक्षसहित ७ दिने केन्द्रीय सहमतिअनुसार भागबन्डा लगाऔं भन्दा नेकपाले बखेडा निकालेको तदर्थ समिति गण्डकीका अध्यक्ष ईश्वर पाण्डेले बताए । ‘हामीले सहमतिअनुसार नै पद मागेका हौं । नेकपाले सहमति मानेन, हामी पनि अर्को सहमतिमा गएनौं ।’

दुई पार्टी एकीकरणपछि नेकपा प्रदेशको ठूलो पार्टी भएकाले कांग्रेसलाई नेतृत्व दिन नसकिने नेकपाको दाबी थियो । ‘नेकपा प्रदेशको नेतृत्व सम्हाल्ने मनसायसहित अधिवेशनमा गएको थियो । आˆनो बहुमत हुँदाहुँदै नेतृत्व अरुलाई सुम्पने कुरा हुँदैन,’ तदर्थ समितिका सहसंयोजक राजु पौडेलले बताए ।

कांग्रेसका तर्फबाट अध्यक्षको दाबी गरिरहेका अन्नपूर्ण गाउँपालिका अध्यक्ष युवराज कुँवरले दुई तिहाइको केन्द्रीय सरकारको दम्भले महासंघको अधिवेशनमा पनि नेकपाले विधि मिच्न खाजेको बताए । ‘सहमतिमा अधिवेशन टुंगोमा पुग्थ्यो । नेकपाको दम्भले स्थगित भयो,’ कुँवरले भने, ‘यस्तै हो भने समानान्तर अर्को महासंघ खोल्छौं ।’

२०७४ असार १० गते पोखरा भेलाले गाउँपालिका राष्ट्रिय महासंघ गण्डकी प्रदेश तदर्थ समिति गठन गरेको थियो । त्यतिबेला संयोजकमा कांग्रेस र सहसंयोजकमा एमालेलाई गरी १५ सदस्यीय कार्यसमितिमा ७ सदस्य कांग्रेस, ६ सदस्य एमाले र २ सदस्य माओवादी केन्ऽबाट भागबन्डा लगाइएको थियो । अब छलफल र वार्ताबाट सहमति गरेर अघि बढ्ने तदर्थ समिति अध्यक्ष पाण्डेले बताए ।

अनलाइन खबरबाट