१५ कात्तिक, काठमाडौं । मानव अधिकारवादी समूह ‘हृयुमन राइट्स वाच’का अनुसार उत्तर कोरियाका उच्च तहका अधिकारीहरुले महिलाहरुमाथि यौन दुर्व्यवहारलाई सामान्य रुपमा लिने गरेका छन् ।
हृयुमन राइट्स वाचका अनुसार यस्तो दुर्व्यवहार धेरै मात्रामा हुने गरेको छ र महिलाहरुले यसलाई जीवनको एक भागको रुपमा लिन थालेका छन् । उक्त रिपोर्टका अनुसार दुर्व्यवहार गर्नेहरु शक्तिशाली हुने भएकाले उनीहरुलाई कुनै सजाय हुँदैन ।
यो रिपोर्ट ६२ उत्तर कोरियालीसँग गरिएको अन्तर्वार्तामा आधारित छ । आफ्नो देशबाट भागेर आएका ती महिलाहरुले बलात्कार र यौनजन्य दुर्व्यवहारको विस्तृत विवरण दिएका छन् ।
उक्त समूहका अनुसार यसले खुल्ला संस्कृति, गैरजिम्मेवार दुर्व्यवहार र विशेष गरी शक्तिमा रहेका पुरुषहरुको कुकर्मको रहस्योद्घाटन गरेको छ ।
‘उनीहरुले हामीलाई खेलौनाको रुपमा सोच्ने गर्छन् । हामीले उनीहरुसँग दयाको भिख माग्नुपर्छ’ ४० वर्षीया पूर्व व्यापारी ओ जंग हीले रिपोर्टका लेखकहरुलाई भनेकी छन् ।
अरु देशसँग खासै सम्पर्कमा नरहने रहस्यमयी देशबाट सूचना संकलन गर्नु धेरै कठिन छ र यस्तो रिपोर्ट बनाउनु त झनै दुर्लभ छ ।
हृयुमन राइट्स वाचले भनेको छ, ‘केही महिलाहरुका अनुसार यौन दुव्यवहार यति सामान्य भइसकेको छ कि उनीहरुले त्यसलाई असामान्य रुपमा सोच्नै छाडिसकेका छन् । धेरैले त्यसलाई दैनिक जीवनको एक भागको रुपमा लिएका छन् ।’
‘यौन शिक्षाको कमी र शक्तिशाली पुरुषहरुले शक्तिको दुरुपयोगको कारण पीडकलाई यस्तो गर्न सहयोग पुगेको छ’, रिपोर्टमा लेखिएको छ । धेरैजसो पीडकहरु उच्च दर्जाका पार्टीका अधिकारीहरु, जेलका गार्डहरु, प्रहरी र सैनिकहरु रहेको पनि रिपोर्टमा उल्लेख छ ।
सन् २०१४ मा संयुक्त राष्ट्रसंघले जारी गरेको एक रिपोर्टमा पनि उत्तर कोरियाली सरकारले ‘प्रणालीगत रुपमा ठूलो स्तरमा मानव अधिकारको हनन गर्ने गरेको’ उल्लेख छ ।