१५ कात्तिक, काठमाडौं । साफ यु-१५ च्याम्पियनसिप फुटबल प्रतियोगिताको पहिलो सेमिफाइनलमा भारतलाई पराजित गर्दै बंगलादेश फाइनलमा प्रवेश गरेको छ ।
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा बिहीबार भएको सेमिफाइनलमा बंगलादेशले भारतलाई पेनाल्टीमा ४-२ ले पराजित गर्दै जित निकालेको हो ।
खेलको १७ औं मिनेटमा नै प्याट्रे हर्ष शैलेसले गोल गर्दै भारतलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा १-० गोलअन्तरले अघि रहेको भारतले दोस्रो हाफमा अन्तिम समयसम्म राम्रो प्रदर्शन गरे पनि अतिरिक्त समयमा पेनाल्टीबाट गोल खादै बराबरीमा पुगेको थियो ।
खेलको अतिरिक्त समयमा भारतका खेलाडीले आफ्नो डिबक्सभित्र बंगलादेशका खेलाडीलाई फल गरेपछि पेनाल्टी पाएको थियो ।
पेनाल्टीबाट बंगलादेशले गोल गर्दै १-१ गोलको स्थितिमा पुर्याएको थियो । तर बाँकी समयमा दुबै टिमबाट गोल हुन नसकेपछि खेल पेनाल्टीमा धकेलिएको हो ।
पेनाल्टीमा बंगलादेशले ४-२ गोलअन्तरले भारतलाई हराउन सफल भयो । त्यस्तै, आजै २ बजेर ३० मिनेटमा घरेलु टिम नेपालले पाकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र पाकिस्तानबीचको विजेताले बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ ।