१५ कात्तिक, कठमाडौं । ३ खेलको टि-ट्वान्टी क्रिकेट सिरिजको पहिलो खेलमा पाकिस्तानले न्यूजील्यान्डमाथि रोमाञ्चक जित दर्ता गरेको छ ।
युएईको अबुधावीस्थित शिख जायद रंगशालामा बुधबार राति सम्पन्न टि-ट्वान्टी सिरिजको पहिलो खेलमा पाकिस्तानले न्यूजील्यान्डलाई २ रनले पराजित गर्दै रोमाञ्चक जित हात पारेको हो । १४९ रनको मध्यम स्कोरको चुनौती पछ्याउँदै ब्याटिङ गरेको न्यूजील्यान्डले निर्धारित २० ओभरमा सबै विकेटको क्षतिमा १४६ रन मात्रै बनाउन सक्यो ।
न्यूजील्यान्डका लागि कोलिन मुन्रोले ५८ र रोस टाइलरले अविजित ४२ रन बनाएपनि जित हात पार्न सकेनन् । मुन्रोले ४२ बलमा ६ चौका र ३ छक्का प्रहार गरेका थिए । यता, टाइलरले भने विष्फोटक ब्याटिङ गर्दै २६ बलमा ३ चौका प्रहार गर्दै ४२ रन बनाएका थिए ।
न्यूजील्यान्डलाई रोक्न बलिङतर्फ पाकिस्तानका हसन अलीले ३ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १४८ रन बनाएको थियो । पाकिस्तानका लागि मोहम्मद हफिजले ४५, कप्तान सर्फराज अहमदले ३४, असिफ अलीले २४ र इमाद वासिमले अविजित १४ रन बनाए ।
पहिलो विकेट ८ रन हुदा बाबर अजामलाई गुमाएको पाकिस्तानले दोस्रो विकेट १० रन हुदा नै सहिवजदा फर्हानलाई गुमाएको थियो । त्यसपछि भने पाकिस्तानले सम्हालिएर खेल्दै इनिङ्स उकासेको थियो । बलिङतर्फ न्यूजील्यान्डका ऐडन मिल्नेले २ विकेट लिए ।
जितसँगै ३ खेलको टि-ट्वान्टी सिरिजमा पाकिस्तान १-० ले अघि भएको छ । अब दोस्रो टि-ट्वान्टी खेलमा पाकिस्तानले न्यूजील्यान्डसँग शुक्रबार प्रतिस्पर्धा गर्नेछ ।