स्विट्जरल्याण्डमा नेपाली बालबालिकाको फेसन शो

By purnakhabar

October 31, 2018

स्विट्जरल्याण्डबासी नेपालीहरूले फरक किसिमको कार्यक्रम आयोजना गरेर दशैं मनाएका छन्। नेपाली बालबालिकाहरुबीच फेसन शो प्रतियोगिता गराएर यहाँका नेपालीले दशैं मनाएका हुन् ।

नेपाली भाषा पहिचानका लागि नेपाली वर्णमाला प्रतियोगिता तथा नेपाली पोशाकसहितको फेसन शो गर्दै एक फरक कार्यक्रम प्रस्तुत भएको थियो।

कोजाग्रत पुर्णिमासँगै दशै समापन भए पनि आइतबार एक कार्यक्रमका बीच नेपालीहरुले दशैं मनाए। नेपाली समाज बेर्न र गैरआवासीय नेपाली संघ स्विट्जरल्याण्डले संयुक्त रुपमा बेर्नमा कार्यक्रमको आयोजना गरेका हुन् । साना–साना बालबालिकाहरुको प्रस्तुतिले उपस्थितको ध्यान तानेको थियो ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै स्विट्जरल्याण्डका लागि नेपाली राजदूत दीपक धितालले नेपाली भाषा र संस्कृति चिनाउने कार्यक्रम आयोजना भएके भन्दै प्रशंसा गरे ।

नेपाली भाषालाई महत्त्व दिँदै बालबालिकाहरु प्रति लक्षित कार्यक्रम फरक रहेको भन्दै राजदूत धितालले प्रंशसा गरेका हुन्।

सो अबसरमा प्रतियोगिताका बिजेताहरुलाई पुरस्कार समेत प्रदान गरियो।

कार्यक्रममा नेपालबाट आएका गायिका सरीता कार्की र गायक मेकसाम खातीले लोक दोहोरी गीत पस्केर मनोरञ्जन प्रदान गरेका थिए । बासेल निवासी जीवन भट्टराई र गायिका कार्कीको दोहोरीमा दर्शकले भरपुर मनोरञ्जन लिएका थिए । स्थानीय कलाकारहरुको गायन र नृत्य प्रस्तुतिले पनि उपस्थितलाई तानिरह्यो । संगीत तथा गीतकार सुनील शाक्य र रचनाकार अर्जुन रत्न ‘भिखारी’ कार्यक्रममा विशेष अतिथिका रुपमा उपस्थित थिए ।

विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको कार्यक्रममा स्वागत मन्तव्य नेपाली समाज बेर्नका अध्यक्ष विष्णु प्रसाद थापाले गरे भने गैरआवासीय नेपाली संघका अध्यक्ष भूमिराज गरुङले शुभकामना व्यक्त गरे। कार्यक्रमको कृष्णप्रसाद शिवाकोटीले सञ्चालन गरेका थिए ।

अनलाइन खबरबाट