१२ कात्तिक, काठमाडौं । दुर्गम स्थानमा अस्पताल भवन निर्माणमा सहयोग जुटाउने उद्देश्यले धावक रामसुन्दर कार्कीले खुर्कोटदेखि सिन्धुलीगढीसम्म दौडने भएका छन् । कात्तिक २४ गते खुर्कोटदेखि सिन्धुलीगढीसम्मको करिब २५ किलोमिटर उनले दौडने तय भएको छ ।
‘दुर्गमको कुन ठाउँमा अस्पताल बनाउन सहयोग गर्ने भन्ने विषयमा साथीभाइहरुसंग सल्लाह भइरहेको छ । साथीभाइहरुकै सल्लाह बमोजिम उचित ठाउँमा अस्पताल बनाउन खर्च कटाएर दौडबाट उठेको रकम सहयोग गर्छु’ उनले भने ।
ललितपुर गोदावारीस्थित गोदामचौर निवासी कार्कीले यसअघि २०६४ सालमा १ सय १ दिन दौडेर ७५ जिल्ला पुगेका थिए । कार्कीले काठमाडौंदेखि सिन्धुलीगढी २ पटक, काठमाडौंदेखि लुम्बिनी ६ पटक, काठमाडौंदेखि दोलखा ३ पटक र काठमाडौंदेखि पोखरा १ पटक दौडिसकेका छन् । त्यस्तै कार्कीले काठमाडौंदेखि भारतको उत्तर प्रदेश र भुटानको सिमाना फुन्चुलिङ पनि दौडेर पुगेको जानकारी दिए ।