१२ कात्तिक, काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिगको नयाँ खेल तालिका सार्वजनिक भएको छ ।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले सोमबार लिगको नयाँ तालिका सार्वजनिक गरेको छ । एन्फाले चाडपर्वका कारण स्थगित गरेको लिग मङ्सिर १ गते शुरु गर्ने निर्णय गरेको लिग निर्देशक सञ्जिव मिश्रले जानकारी दिए ।
गएको असोज १३ गते शुरु भएको लिग बङ्गबन्धु गोल्डकप, दशैँ, तिहार र छठका कारण स्थगित गरिएको थियो । मङ्सिर १ गतेदेखि शुरु हुने लिगको दोस्रो चरणको पहिलो खेलमा सिग्नेचर मनाङ मर्स्याङ्दी र न्युरोड टिम एनआरटीबीच प्रतिस्पर्धा हुनेछ ।
खेल हलचोक मैदानमा बिहान ११ बजे शुरु हुनेछ । सोही दिन हुने दोस्रो खेलमा त्रिभुवन आर्मी क्लब र च्यासल युथ क्लबले प्रतिस्पर्धा गर्नेछन् ।
त्यसैगरी मङ्सिर २ गते मछिन्द्र क्लब र नेपाल पुलिस क्लबबीच पहिलो तथा ब्रिगेड ब्वाइज क्लब र थ्रीस्टार क्लबबीच खेल हुनेछ । दुवै खेल एन्फा कम्प्लेक्स सातदोबाटोमा हुनेछ ।
मङसिर ३ गते जावलाखेल युथ क्लब र सङ्कटाबीच पहिलो तथा फ्रेन्ड्स क्लब र एपिएफबीच दोस्रो खेल एन्फा मैदानमा हुनेछ । सोही दिन सरस्वति क्लब र हिमालयन शेर्पाबीच हल्चोकस्थित सशस्त्रको मैदानमा खेल भएसँगै दोस्रो चरणको खेल समाप्त हुनेछ । तेस्रो चरणको खेल मङ्सिर ६ गतेदेखि शुरु हुनेछ ।
लिगमा १४ वटा ’ए’ डिभिजन क्लबहरू क्रमशः थ्री स्टार, मनाङ मर्स्याङ्दी, नेपाल पुलिस, एपीएफ, आर्मी, जाउलाखेल युथ, फ्रेन्ड्स, संकटा, मछिन्द्र, सरस्वती युथ, च्यासल युथ, न्युरोड टिम (एनआरटी), ब्रिगेड ब्वाइज र हिमालयन शेर्पा क्लबले सहभागिता जनाएका छन् ।
राउण्ड रोविन लिगको आधारमा हुने प्रतियोगितामा कुल ९१ खेल हुनेछन् । लिगको विजेताले ५० लाख, उपविजेताले ३५ लाख, तेस्रोले २५ लाख रुपैयाँ पाउनेछन् । लिगको चौथो टोलीले १५ लाख, पाँचौ टोलीले सात लाख र छैटौंले पाँच लाख रुपैयाँ पाउनेछन् । फेयर प्ले टिमले एक लाख पाउने छ । प्रत्येक खेल जिते बापत एन्फाले क्लबलाई ५० हजार तथा म्यान अफ दि म्याच खेलाडीलाई १० हजार दिने छन् ।
यस्तै लिग विजेता टोलीले एएफसी एसियन कप फुटबलमा सहभागिता जनाउन पाउने लिग निर्देशक सञ्जिव मिश्रले जानकारी दिए । ‘ए’ डिभिजन लिग चार वर्षपछि हुन् लागेको हो । पछिल्लो पटक विस २०७१ सालमा ‘ए’ डिभिजन लिग भएको थियो ।
लिगको पहिलो चरणका खेल सम्पन्न भइसकेका छन् । पहिलो चरणको खेल सकिँदासम्म मनाङ मर्स्याङ्दी, सङ्कटा, थ्रीस्टार र नेपाल पुलिसले पहिलो खेल जित्दै तीन/तीन अङ्क जोडेका छन् ।
त्रिभुवन आर्मी, सशस्त्र प्रहरीको एपिएफ, च्यासल, मछिन्द्र, न्युरोड टिम र हिमालयन शेर्पा क्लबले बराबरी खेल्दै एक/एक अङ्क जोडेका छन् । त्यसैगरी जावलाखेल, सरस्वती, फ्रेन्ड्स र ब्रिगेड ब्वाइजले हार बेहोर्दै अङ्कविहीन छन् ।