नेपाली फिल्मका दर्शक छैनन् या आउँदैनन् ?

By purnakhabar

October 28, 2018

नेपाली चलचित्रको इतिहासमै सर्वाधिक व्यापार गर्ने चलचित्र हो, ‘छक्का पन्जा’ । निर्माता दिपकराज गिरीले दिएको आँकडालाई मान्ने हो भने, यो चलचित्रले नेपालभरबाट १६ करोड ग्रस कलेक्शन गरेको छ । २ बर्ष अगाडि रिलिज भएको चलचित्रले १६ करोड कमाउन कति दर्शकले यो चलचित्र हेर्नुपरेको थियो होला ?

अहिले मल्टिप्लेक्समा ३०० रुपैयाँ टिकट छ भने सिंगल हलमा ५० देखि २०० सम्म टिकट छ । ‘छक्का पन्जा’ मल्टिप्लेक्समा बढी चलेको चलचित्र हो । यसैले यो चलचित्र हेर्ने दर्शकको संख्या १० लाखको हारहारीमा होला ।

यो नेपालमा सबैभन्दा धेरै हेरिएको चलचित्र हो । तर, सबै चलचित्र छक्का पन्जा बन्दैनन् । नेपालमा एक बर्षमा बन्ने एक सय चलचित्रमा ९० वटा चलचित्र असफल छन् । ५ वटाले लगानी उठाएका छन् भने ५ वटाले नाफा कमाएका छन् ।

यसैले ‘छक्का पन्जा’लाई हेरेर नेपाली चलचित्र चल्यो, दर्शक हलमा आउन थाले भनेर विश्लेषण गर्नु गलत हुनसक्छ ।

कति प्रतिशत दर्शक हलमा आउँछन् ? नेपालको कुल जनसंख्या अहिले ३ करोडको हारहारीमा होला । त्यसमध्ये आधा प्रतिशत जनसंख्या चलचित्र हेर्न आफै हलसम्म जान सक्छ । यसरी हेर्दा करिब डेढ देखि २ करोड जनसंख्याले चलचित्र हेर्न सक्छ । तर, नेपाली चलचित्र हेर्ने दर्शकको संख्या कति होला ? चलचित्र संघका अध्यक्ष प्रदिपकुमार उदयको अनुसार, नेपाली चलचित्र हेर्ने दर्शक १ देखि २ प्रतिशत मात्र छन् ।

यो भन्दा अझै पनि दर्शकको संख्या हलमा बढ्न सकेको छैन । नायक राजेश हमाल, निखिल उप्रेतीको जमानामा पनि हलमा आउने दर्शकको संख्या यति नै थियो । अहिले पनि चलचित्र हेर्न आउने दर्शकको संख्यामा कुनै फेरबदल भएको छैन । मल्टिप्लेक्स हल खुलेसँगै टिकट दर बढेको छ । टिकट दर बढेकाले दर्शक कम भएपनि व्यापार बढी देखिन्छ । तर, दर्शकको वर्ग फेरिएको छ संख्या उही नै छ । १६ करोड कमाएको चलचित्र हेर्न १० लाख जनसंख्या आएको देखिन्छ । अब, औषत चलेका चलचित्र हेर्न कति दर्शक आउलान्, आफै हिसाब निकाल्न सकिन्छ ।

के दर्शक विदेश गएका हुन् ? जब, नेपालमा राजेश हमाल, निखिल उप्रेती, विराज भट्टका चलचित्रले हलमा व्यापार गर्न छाडे, त्यसपछि अधिकांश चलचित्रकर्मीले एउटै रटान लगाए । त्यो के थियो भने, नेपाली चलचित्र हेर्ने दर्शक नेपालमा छैनन् । अधिकांश दर्शक कामको खोजीमा विदेश गएकाले हल शुन्य हुन थाल्यो भनेर विश्लेषण गरियो ।

तर, अब यो कुरा भनेर आफ्नो गल्ती ढाकछोप गर्ने अधिकार चलचित्रकर्मीलाई छैन । किनकी, अहिले दर्शकको बर्ग फेरिएको छ । चलचित्रकर्मीकै कुरा मान्ने हो भने, हरेक १० बर्षमा दर्शक बदलिन्छन् । अब, राजेश हमाल यूगका दर्शक पर्खिएर बस्ने समय छैन । किनकी, चलचित्र बजारमा अनमोल केसीदेखि प्रदिप खड्काका फ्यान प्रशस्त जन्मिएका छन् ।

दर्शक नआएका कि नभएका ? यो बर्षकै आँकडा हेरौ । असोज महिनासम्म ४० बढी चलचित्र रिलिज भैसकेका छन् । त्यसमध्ये, कमाएका चलचित्रमा ‘नाई नभन्नु ल ५ र छक्का पन्जा ३’ मात्र पर्छन् । ‘रामकहानी र इन्टु मिन्टु लण्डनमा’को ग्रस कलेक्शन ३ करोड हारहारीमा छ । अरु, सबै चलचित्र असफल छन् । ४० वटा चलचित्रमा ३ दर्जन चलचित्र हेर्न १ प्रतिशत दर्शक पनि हलमा आएको देखिदैन ।

यो आँकडा हेर्दा एउटा प्रश्न उब्जन सक्छ, के, नेपाली चलचित्र हेर्ने दर्शक नै नभएका हुन् त ? चलचित्र संघका अध्यक्ष प्रदिप कुमार उदयले भने-‘नेपाली चलचित्र हेर्ने दर्शक प्रशस्त छन् भनेर त ‘छक्का पन्जा ३’ ले प्रमाणित गरिसक्यो नी । अब हामीलाई दर्शक विदेशमा छन् भनेर बस्न छुट छैन ।’ उसो भए किन दर्शक आउँदैनन्, उदय भन्छन्-‘नेपाली चलचित्र हेर्न लायक नबन्नु नै यसको मुख्यकारण हो । दर्शकलाई नेपाली चलचित्रप्रति मोह नै छैन ।’

‘छक्का पन्जा’का निर्माता दिपकराज गिरी भन्छन्-‘९० प्रतिशत चलचित्र हलमा बसेर हेर्नु भनेको सजायँ पाउनु जस्तै हुन्छ । १० प्रतिशत चलचित्र हेर्न मात्र दर्शक हलमा आएका छन् ।’

कहिलेसम्म १ प्रतिशतमा अड्किने ? जनसंख्या दिनानुदिन बढेको छ । देशभर सुविधायुक्त मल्टिप्लेक्स हल खुल्न थालिसकेका छन् । तर, हलमा दर्शक सधै खाली हुन्छन् । हल संचालकहरु बर्षमा रिलिज हुने सय चलचित्रमा एकाध चलचित्रले हल भरिदेला र व्यापार राम्रो होला भन्ने आशामा बस्छन् । निर्माताहरु खाली सिटलाई भरीभराउ दर्शक सोचेर झुटो प्रचार गर्न व्यस्त छन् ।

तर, कसैले पनि आफ्नो कमजोरी स्विकार गर्न सकेको छैन । दर्शक नै नआएको चलचित्रले करोडौ कमायो भनेर केक काटेर सेलिव्रेशन गर्न हतार गर्ने निर्माताले चलचित्र स्तरिय बनाउन कहिले पनि मिहिनेत गर्न सकेका छैनन् । यसैको परिणाम, चलचित्रप्रतिको मोह हुँदा हुँदै पनि दर्शक हलसम्म आकषिर्त छैनन् ।

हामी अझै पनि १ प्रतिशत जनताको भरमा चलचित्र क्षेत्रमा रमाइरहेका छौ । तीनै १ प्रतिशत दर्शक बर्षभर हलमा घुम्छन् । कसैकोमा बढी त कसैकोमा कम । दर्शकको स्वाद बदलिएको छ, नेपाली चलचित्रकर्मीको सोच बदलिएको छैन । चलचित्र गुणस्तरिय नबन्दा नेपाली चलचित्र हेर्न रुचि गर्दा गर्दै पनि दर्शक हलसम्म आएका छैनन् । किनकी, ३०० रुपैयाँ टिकट काटेर दर्शक हलसम्म सजायँ भोग्न आउँदैनन् ।

अनलाइन खबरबाट