नेताको व्यवस्थापन गर्न विधान संशोधन गर्न लागिएको होइन: प्रकाशमान

By purnakhabar

October 27, 2018

१० कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले कुनै नेतालाई पद दिन र व्यवस्थापन गर्ने गरी पार्टीको विधान संशोधन गर्न नहुने बताएका छन् । पार्टीलाई समयअनुसार चलायमान बनाउन विधान संशोधन हुनुपर्ने उनको जोड छ ।

काठमाडौंको टोखा नगरपालिकाका पार्टीका विभिन्न वडासमितिले शनिबार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा सिंहले भने, ‘नेताका आसेपासेलाई कहीँकतै राख्न विधान संशोधन हुन्न । पार्टीलाई अघि बढाउने खालको विधान बन्छ ।’

विधान कस्तो बनाउने भन्ने छलफल भइराखेको र प्रदेशहरूमा पुगेर पनि छलफल गरी राय, सुझाव लिइसकिएको उनले जानकारी गराए । निर्वाचनपछि पार्टी लथालिंग अवस्थामा रहेको बताउँदै उनले भने, ‘अब पार्टीलाई चलायमान गर्न विधान संशोधन गर्ने हो ।’

कम्युनिष्टलाई टक्कर दिन सक्ने पार्टी कांग्रेस मात्रै भएको बताउँदै उनले नयाँ खुलेका पार्टीले कम्युनिष्टसँग प्रतिस्पर्धा गर्न र विकास गर्न नसक्ने बताए ।

अनलाइन खबरबाट