१० कात्तिक, काठमाडौं । नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले नेकपाले आयोजना गर्न लागेको चियापान कार्यक्रम बहिस्कार गर्ने भएका छन् ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका डा. भट्टराईले चियापान कार्यक्रममा लाग्ने खर्च कुनै उत्पादनको क्षेत्रमा लगानी गरेको भए राम्रो हुन्थ्यो भन्दै आफू उपस्थित हुन नसक्ने बताएका हुन् ।
ट्वीटरमार्फत् डा. भट्टराईले भनेका छन्, ‘सत्तासीन कमरेडहरू, एउटै खाममा ४ वटा शुभकामना र निमन्त्रणा कार्ड पठाउनुभएकोमा धन्यवाद !तपाईंहरू सबैको भलो होस्, हाम्रो पनि शुभकामना ! गरीब देशको सर्वहारावर्गको दुहाइ दिने पार्टीले ५० हजारलाई भोज ख्वाउने खर्च कुनै उत्पादनको क्षेत्रमा लगानी गरेको भए राम्रो हुन्थ्यो कि ? त्यसैले म आउन सकिनँ ! जय होस् ।’
दशैं, दीपावली, छठ र नेपाल सम्वतको अवसरमा नेकपाले भृकुटीमण्डपमा मध्याह्न शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रममा नेता, कार्यकर्ता, कुटनीतिज्ञ, खेलाडी, कलाकारसहित ५० हजार जनालाई निम्तो दिइएको छ ।