राष्ट्रपति रनिङ शिल्डका स्वर्ण विजेतालाई विशेष प्रशिक्षण

By purnakhabar

October 26, 2018

९ कात्तिक, काठमाडौं । राष्ट्रपति रनिङ शिल्डमा स्वर्ण पदक जितेका कराते, तेक्वान्दो, उसु र एथ्लेटिक्सका खेलाडीका लागि १० दिने विशेष प्रशिक्षण हुने भएको छ ।

राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत नेपाल खेलकुद विज्ञान प्रतिष्ठानले राष्ट्रपति रनिङ शिल्डमा स्वर्ण पदक जित्ने खेलाडीलाई प्रशिक्षण दिन लागेको हो । विशेष प्रशिक्षण आउँदो १० देखि १९ गतेसम्म सञ्चालन हुनेछ । विशेष प्रशिक्षणमा २०७३, २०७४ र २०७५ मा सम्पन्न भएको राष्ट्रपति रनिङ शिल्डमा स्वर्ण पदक विजेता खेलाडीले भाग लिनेछन् । जसमा एथ्लेटिक्स, कराते, तेक्वान्दो र उसुका गरी ९० जना खेलाडी रहेका छन् ।

नेपाल खेलकुद विज्ञान प्रतिष्ठानका निर्देशक नवीन उप्रेतीले प्रतिभावान खेलाडीलाई राष्ट्रिय टिममा ल्याउन यो विशेष प्रशिक्षण गर्न लागेको बताए ।

उनले भने, ‘राष्ट्रपति रनिङ शिल्ड खेलिसकेपछि प्रतिभावान खेलाडीहरु पनि राष्ट्रिय खेलकुद परिषद्को हेराइबाट बाहिर रहन्छ । उनीहरुलाई पनि विशेष प्रशिक्षण गराएर भोलिका दिनमा राष्ट्रिय टिममा समावेश गर्न र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको खेलाडी बनाउन हामीले यो प्रशिक्षण राखेको हो ।’

उनले थपे, ‘२०७३ र २०७४ मा स्वर्ण पदक जितेका खेलाडीहरु अब राष्ट्रिय टिममा हुन्छन् त्यसकारण यो परीक्षणको रुपमा प्रयोग गरिएको हो । यदि यो सफल भएमा अझ २ देखि ३ महिनासम्म प्रशिक्षण लम्ब्याएर राष्ट्रिय टिममा ल्याउने लक्ष्य छ ।’

एथ्लेटिक्स

विशेष बन्द प्रशिक्षणमा एथ्लेटिक्समा ४० जना खेलाडी रहेका छन् । एथ्लेटिक्सको विशेष बन्द प्रशिक्षण मूलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ । प्रशिक्षणका लागि धनिराम चौधरी, चद्रबहादुर गुरूङ र राकेश बज्रचार्य गरी तीन प्रशिक्षक रहेका छन् ।

कराते

करातेको बन्द प्रशिक्षण ललितपुरको सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिषद्को कराते हलमा हुनेछ । प्रशिक्षणमा २१ जना खेलाडी समावेश छन् । विशेष प्रशिक्षणका लागि कुशल श्रेष्ठ र गंगाराम महर्जन रहेका छन् ।

तेक्वान्दो

तेक्वान्दोको बन्द प्रशिक्षण त्रिपुरेश्वरस्थित दशरथ रंगशलाको कभर्ड हलमा हुने छ । प्रशिक्षणमा राष्ट्रपति रनिङ शिल्डमा स्वर्ण पदक विजेता १५ जना खेलाडीले भाग लिने छन् । उनीहरुलाई प्रशिक्षक नवीनकुमार श्रेष्ठ र हिरा थापाले प्रशिक्षण दिने छन् ।

उसु

उसुको प्रशिक्षण पनि दशरथ रंगशालामै हुनेछ । राष्ट्रपति रनिङ शिल्डमा स्वर्ण पदक विजेता १४ जना खेलाडीले भाग लिने अवसर पाएका छन् । उनीहरुलाई प्रशिक्षक गोपाल श्रेष्ठ र प्रकाश महर्जनले प्रशिक्षण दिँदै छन् ।

अनलाइन खबरबाट