४६ प्रतिशतले बढ्यो व्यापारघाटा, ३ महिनामा साढे ३ खर्ब

By purnakhabar

October 26, 2018

९ कात्तिक, काठमाडौं । आर्थिक वर्ष २०७५/७६ को असोज मसान्तसम्म व्यापारघाटा करिब साढे ३ खर्ब रुपैयाँ पुगेकाे छ ।  अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४५ दशमलव ९२ प्रतिशतले वृद्धि भएर व्यापारघाटा ३ खर्ब ४९ अर्ब ८४ करोड २३ लाख २८ हजार रुपैयाँ पुगेको हो ।

अघिल्लो आर्थिक वर्षको असोज मसान्तसम्म व्यापारघाटा २ खर्ब ३९ अर्ब ७५ करोड १ लाख ३५ हजार रुपैयाँ रहेको थियो । चालु आर्थिक वर्षको पहिलो ३ महिनामा विभिन्न मुलुकहरुबाट ३ खर्ब ७३ अर्ब ५८ करोड ७२ लाख ५८ हजार रुपैयाँ रुपैयाँको सामग्री आयात भएको छ भने २३ अर्ब ७४ करोड ४९ लाख ३० हजार रुपैयाँको मात्रै निर्यात भएको छ ।

अघिल्लो वर्षको तुलनामा आयात ४३ दशमलव ५७ प्रतिशतले बढेको हो । अघिल्लो आर्थिक वर्षको असोज मसान्तसम्ममा २ खर्ब ६० अर्ब २० करोड ५२ लाख ९७ हजार रुपैयाँको सामान आयात भएको थियो । समीक्षा अवधिमा निर्यातमा पनि वृद्धि भएको छ । निर्यात १६ दशमलव ०८ प्रतिशतले बढेको हो । अघिल्लो वर्षको सोही अवधिमा २० अर्ब ४५ करोड ५१ लाख ६३ हजार रुपैयाँको सामान निर्यात भएको थियो ।

कुन देशसँगको व्यापारघाटा कति ?

असोज मसान्तसम्म सबैभन्दा धेरै व्यापारघाटा भारतसँगै देखिएको छ । यस अवधिमा भारतबाट २ अर्ब ३६ करोड १२ करोड ३४ लाख १९ हजार रुपैयाँको सामान आयात भएको छ भने जम्मा १३ अर्ब १६ करोड ४२ लाख १४ हजार रुपैयाँको मात्रै सामान निर्यात भएको छ ।

जसअनुसार ३ महिनाको अवधिमा भारतसँगको मात्रै व्यापारघाटा २ खर्ब २२ अर्ब ९५ करोड ९२ लाख ५ हजार रुपैयाँ पुगेको छ । व्यापारघाटाका हिसाबले अर्को छिमेकी मुलुक चीन दोस्रो स्थानमा देखिएको छ । चीनसँग यस अवधिमा व्यापारघाटा ५२ अर्ब ५५ करोड १५ लाख ८ ९ हजार रुपैयाँ रहेको छ ।

यसैगरी व्यापारघाटाका आधारमा तेस्रो स्थानमा फ्रान्स देखिएको छ । फ्रान्ससँगको व्यापारघाटा १३ अर्ब ९१ करोड ३० लाख १३ हजार रुपैयाँ रहेको छ ।  व्यापारघाटाका आधारमा यूएई र थाइल्याण्ड क्रमशः चौथो र पाँचौ स्थानमा देखिएका छन् ।

३ महिनाको अवधिमा यूएईसँगको व्यापारघाटा ७ अर्ब ८७ करोड ८ लाख ३८ हजार रुपैयाँ रहेको छ भने थाइल्याण्डसँग ४ अर्ब ३२ करोड ८८ लाख ५ हजार रुपैयाँ रहेको छ ।

अनलाइन खबरबाट