९ कात्तिक, काठमाडौं । झम्के साँझ पर्दा पनि काठमाडौंको विजुलीबजारमा निर्माणधीन पुलको रेखदेख गरिरहेका भेटिए इञ्जिनियर राधाकृष्ण देव । नेपालमै जन्मिएर कतारमा तिखारिएको उनको इन्जिनियरिङ कला यो पुलमा प्रष्टै देखिन्छ ।
जेई कन्स्ट्रक्सनमा आवद्ध यी ६१ वर्षीय इञ्जिनियरले नेपालमै पहिलो नेटवर्क आर्क ब्रिजको निर्माणको नेतृत्व गरे । उनकै अह्रनखटनमा पुल बनिरहेको छ, अब निर्माणको पछिल्लो चरणको काम चलिरहेको छ ।
उनी रात पर्दासम्म पुलको काममा खटिन्छन् । कामदारलाई सुझाव दिन मात्रै हैन, फुक्र्याएर काममा लगाउन उनी माहिर छन् । कामदारको सुरक्षालाई प्रधान ठान्छन् र, त्यसैअनुसार योजना बनाएर काम लगाउँछन् ।
उनी ४ वर्ष अघिदेखि काठमाडौंका केही निर्माण आयोजनाहरु हेर्दैछन् । इञ्जिनियर देव आफूआवद्ध आयोजनामा काम गर्ने कामदारमा विदेश जाने सोच नआसोस् भन्ने चाहान्छन् ।
बिराटनगर जुट मिलका पूर्वमहाप्रवन्धक देवले पुल्चोक इञ्जिनियरिङ क्याम्पसमा पनि केही वर्ष अध्यापन गराए । तर, उनलाई सामाजिक परिस्थितिले नेपालमा रहिरहन दिएन । त्यसैले देव पनि कामका लागि विदेशिने युवाको हुलमा मिसिए, र सन् २००४मा कतार उडे ।
उनले १० वर्ष कतारमा काम गरे । कतार पेट्रोलियमका भवनदेखि विभिन्न ठूला परियोजनामा संलग्न भए । ठीकै कमाए, घर परिवारलाई दुःखको दिन आउन दिएनन् ।
इञ्जिनियरकै रुपमा वैदेशिक रोजगारीमा उनले एक दशक बिताए । उमेर ढल्किँदै गएपछि नेपाल फर्किने निधो गरेका थिए, देवले । छोरीहरुको बिहे गर्नुपर्ने लगायतका विभिन्न घरायसी समस्याले उनलाई कतारमा बसिरहन दिएनन् । सन् २०१४मा नेपाल फर्किए ।
कतारमा जति समय रहे, उनले आफ्नो काममा मात्रै समय बिताएनन् । त्यहाँ निर्माण लगायतका विभिन्न क्षेत्रमा रहेका नेपाली कामदारको सुरक्षाका लागि धेरै काम गरे ।
उनीसहित सचेत नेपालीहरुको जमात जुटेर ‘सेफ्टी अवेरनेश सोसाइटी’लाई जन्म दिए । र, सचेतनाका लागि संस्थामार्फत प्रयासहरु गरे । तर, ती प्रयास पर्याप्त थिएन । लागिरहे, सरकार र कामदारलाई झक्झकाइरहे ।
विदेशमा रहेका कामदारको सुरक्षा चिन्ता गर्दा गर्दै उनलाई नेपाल फर्किनुपर्याे । तर, अझै पनि उनी विदेशमा काम गर्ने युवाको चिन्ता गर्छन् ।
त्यसैले होला, हामीसँग भेट हुनासाथै उनले प्रश्न गरे, ‘गोकर्ण बिष्ट के गर्दैछन छन् हँ ? उनले श्रममन्त्रीको कामबारे जान्न खोजेका थिए ।
अझै दिनमा औषत ३ वटासम्म कामदारको शव काठको बाकसमा आउँदैछ भन्ने सुन्दा उनलाई निको लाग्दैन । यसबारे सरकारले अझै किन सोचिरहेको छैन भन्नेमा उनको आक्रोश छ ।
इञ्जिनियर देवलाई गोकर्ण बिष्ट श्रम मन्त्री भएर आएपछि युवाहरु विदेशमा युवाले अकालमा मर्नुपर्ने विकराल अवस्था घट्छ भन्नेमा विश्वास रहेछ । तर, अझै पनि समचारमा त्यस्ता खबरहरु सुन्नुपर्दा उनको मन अमिलिएको छ ।
‘हामीले नै वैदेशिक रोजगार कल्याणकारी कोष स्थापनाका लागि निकै ठूलो पहल र मिहिनेत गरेका थियौं, कामदारबाटै पैसा उठाएर उनीहरुको हितमा खर्चिने सोच थियो,’ देवको दुखेसो छ,‘विदेशमा नेपाली युवा अकालमै मर्नुपर्ने अवस्था हटाउन कोष बनेको हो । अहिले कोषको पैसा त मृत्यु भएका कामदारका परिवारलाई दिन मात्रै हो भनेजस्तो गरिएको छ ।’
उनी कोषमा जम्मा भएको अर्बौ रकम मृत्यु भएकाका परिवारलाई राहत दिन मात्रै हैन, नेपाली विदेशमा युवालाई मर्नबाट जोगाउन खर्च हुनुपर्ने बताउँछन् । मृत्यु भएपछि परिवारलाई दिइने राहतको भन्दा विदेसिएका युवालाई जोगाउन सरकारले गर्ने प्रयासको बढी अर्थ हुने उनको तर्क छ ।
‘हामीले कत्ति भन्नु, विशेषज्ञ डाक्टरहरुको टोली विदेशमा पठाउनुपर्छ, ठाउँ–ठाउँमा कामदारको स्वास्थ्य परीक्षण शिविर चलाउपर्छ,’ उनी भन्छन्,‘ मरुभूमीको तातो र चिसोमा ज्यानलाई कसरी बचाउने, स्वास्थ्यलाई कसरी ख्याल गरेर स्वस्थ रहने भन्ने कुराको जानकारी दिन कामदारलाई सचेत गर्नुपर्छ ।’
इन्जिनियर देव कामदारबाट कोषका लागि उठाइएको पैसा उनीहरुको स्वास्थ्य हेरचाहमा खर्च गर्ने नीति नल्याउँदासम्म श्रम मन्त्री बिष्ट सफल नहुने तर्क गर्छन् ।
बेलुकी सकुशल सुतेको मान्छे बिहान मृत भइसक्ने अवस्था आउन नदिन के–के कुरामा ध्यान दिने हो भन्ने सरकारले हेर्नुपर्ने तर्क उनको छ ।
‘त्यहाँको सरकारसँग कामदारको स्वास्थ्य हेरचाहबारे नीतिगत व्यवस्थाहरु गर्न सरकारले विशेष पहल गर्नुपर्छ,’ देवको सुझाव छ, ‘विदेश गएका युवाप्रति सरकारको पनि दायित्व हुन्छ, उसकै रेमिट्यान्सका भरमा देश चलाउने, अनि उसलाई मर्नबाट जोगाउने योजना र उपायको खोजी नै नगर्ने ?’