अर्को बर्षको दशैंमा थपियो अशोकको ‘रातो टिका निधारमा’

By purnakhabar

October 25, 2018

पहिले प्रदर्शन मिति तय गरेर ठूलै युद्ध जिते जस्तो गर्ने अनी पछि पछाडि हट्ने नेपाली चलचित्रकर्मीको बानी नै हो । चलचित्रको कथा नै तयार नभई प्रदर्शन मिति बुक गर्न नेपाली चलचित्रकर्मीलाई कसैले सक्दैन । यो बर्षको दशैं सकिएको छ । तर, अर्को बर्षको दशैंका लागि ३ वटा चलचित्रले डेट बुक गरिसकेका छन् । यी तिनै चलचित्रको छायांकन पनि सुरु भएको छैन ।

प्रकाश सुवेदीको निर्देशनमा तयार हुन लागेको चलचित्र ‘बकम्फुसे राजा’ र रेनशा वान्तवा राइको निर्देशनमा तयार हुन लागेको चलचित्र ‘आई एम ट्वान्टी वान’ले अर्को बर्षको दशैंमा रिलिज मिति घोषणा गरिसकेका छन् ।

अब यो सूचीमा निर्देशक अशोक शर्माको नयाँ चलचित्र पनि सामेल भएको छ । हलमा चलिरहेको चलचित्र ‘जय भोले’ले एक सातामै लगानी सुरक्षित गरेको दाबी गर्दै यसका निर्माता तथा निर्देशक शर्माले अर्को बर्षको दशैंमा ‘रातो टिका निधारमा’ रिलिज गर्ने बताएका छन् । चलचित्र ‘जय भोले’ले एक सातामा करिब ३ करोड ग्रस कलेक्शन गरेको उनको दाबी छ ।

चलचित्र ‘रातो टिका निधारमा’मा कलाकार पनि फाइनल भएका छैनन् । यो चलचित्रमा अशोकले नै बनाएको ‘अल्लारे’ चलचित्रको ‘रातो टिका निधारमा टलक्क टल्कियो’ बोलको गीत पनि समावेश हुनेछ ।

अनलाइन खबरबाट