बन्द भयो सुपथ पसल, एकादशीपछि फेरि खुल्ने

By purnakhabar

October 16, 2018

३० असोज, काठमाडौं । सरकारले चाडपर्वलाई लक्षित गरी सञ्चालन गरेको सुपथ मूल्यको पसल मंगलबारदेखि बन्द भएको छ ।

१२ असोजदेखि काठमाडौं उपत्यकासहित देशका विभिन्न ४७ स्थानमा सञ्चालन गरिएको सुपथ मूल्यको पसल कार्तिक २३ सम्म सञ्चालन गर्ने भनिएको थियो ।

तर, आज फूलपातीदेखि एकादशीसम्मका लागि सुपथ मूल्यको पसल बन्द रहने साल्ट ट्रेडिङ कर्पोरेशनका वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागका सूचना अधिकारी रघुनाथ अधिकारीले जानकारी दिए ।

‘विभागीय कर्मचारीहरु पनि दशैंमा घर जाने भएकाले पसल बन्द गर्ने निर्णय भएको हो, उनले भने । यस्ता पसलमा उपभोग्य वस्तुमा प्रचलित बजार मूल्यभन्दा केही छुट दिएर बेच्ने गरिएको थियो ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागको नेतृत्वमा नेपाल खाद्य संस्थान, साल्ट ट्रेडिङ कर्पोरेशन र दुग्ध विकास संस्थानले आफ्ना उत्पादित वस्तु सुपथ पसलमा बेच्दै आएका थिए ।

तर, मुख्य किनमेलका बेला नै पसल बन्द हुँदा कामकाजी मानिसहरु भने मारमा पर्ने उपभोक्तावादीहरु बताउँछन् ।

दशैंका लागि सरकारी कर्मचारी, बिद्यार्थी, निजी संस्थामा कार्यरतहरुले फूलपातीबाट मात्र बिदा पाउने हुँदा मंगलबारदेखि सुपथ पसल बन्द गर्ने निर्णय उचित नभएको उपभोक्ता हित संरक्षण मञ्च नेपालका कार्यक्रम निर्देशक हरि मैनाली बताउँछन् ।

‘घ्युमा ५० रुपैयाँ, अन्य वस्तुमा ५ देखि १० रुपैयाँ छुट दिने भनिएको थियो, नवमीसम्म चलाएको भएपनि उपभोक्तालाई राहत नै हुन्थ्यो’, उनले भने ।

अनलाइन खबरबाट