Banner News

हड्डी

By admin

October 15, 2018

यो हड्डीलाई किरात कालमा बत्तिस पुस्ताका राजाले बेस्सरी चुसे तेतिबेला जनता आधापेट सुते

मगधबाट आएका लिच्छवीले छ सय तीस वर्ष धारिला दाँतमुखले किरातहरूबाट खोसेर बेस्सरी चुसे तेतिबेला जनता चाहीँ रोग ग्रस्त सुते

खोसेर लिच्छवीहरूबाट यो हड्डीलाई मल्लहरूले पाँच सय ६८ वर्ष चुसे तेतिबेला पनि जनता अँध्यारोमै सुते

गोर्खाको खुइले डाँडाका ठकुरीहरूले (राणाले १०४ वर्ष ठकुरीहरूलाई थुनेर) यो हड्डीलाई दुइ सय ४० वर्ष चुसे तेतिबेला जनता छानाबिनाको घरमा सुते

त्यसपछि गाउँगाउँका सामन्त पञ्चले यो हड्डीलाई राजाको हुकुम मुताबिक तीस वर्ष सम्म राजासँग मिलेर चुसे जनताका छोरीबुहारी डरले काम्दै सुते

अनि, कांग्रेसले यो हड्डीलाई चुसे पञ्च र कम्निष्ट मिलेर यो हड्डीलाई चुसे प्रजातन्त्र र विकास भन्दै यो हड्डी जनता समाजवादी सपना खाएर सुते

अहिले, भारतको ईसारामा नाच्ने कम्निष्ट र भारतका व्यापारीले यो हड्डीलाई दिनरात चुसिरहेछन् जनता सिरिफ महंगीको ओछ्यानमा सुतिरहेछन्

यो मुलुक, कुकुरलाई हड्डी मात्र हो जसलाई थरिथरिका कुकुरले चुसे धन्य छ यो हड्डी, हरेक हड्डी चुसकका निम्ती स्वादिलो रगतको स्वादको भ्रम दिन्छ यो हड्डी खासमा सबले चुसेर स्वाद निख्रिसकेको स्वाद, गन्ध र रंगहिन हड्डी भा’छ यो मुलुक ।

(अक्टोबर १५, २०१८)

Source link