सशस्त्र प्रहरीले पनि दशैंमा निःशुल्क बस चलाउने

By purnakhabar

October 15, 2018

२९ असोज, काठमाडौं । सशस्त्र प्रहरी बल नेपाल पनि दशैंको अवसरमा काठमाडौं उपत्यकामा ४ वटा बस निःशुल्क रुपमा सञ्चालन गर्ने भएको छ ।

दशैंमा सार्वजनिक यातायातका साधनहरु न्यून रुपमा चल्ने भएकोले सर्वसाधारणको आवतजावतमा सुविधा होस् भनेर निःशुल्क बस चलाउन लागिएको हो ।

काठमाडौं उपत्यकाभित्र सशस्त्र प्रहरी बल नेपालको निःशुल्क बस सेवाको एउटा रुट कलंकीबाट छुटेर कालिमाटी, त्रिपुरेश्वर, माईतिघर, बानेश्वर, कोटेश्वर, ठिमी हुँदै सुर्यविनायक पुगी पुनः सोही रुटबाट कलंकीसम्म फिर्ता हुनेछ ।

यसैगरी, अर्को रुटमा लगनखेल, जावलाखेल, पुल्चोक, त्रिपुरेश्वर, जमल, लैनचौर, नारायणगोपालचोक, बाँसबारीहुँदै बुढानिलकण्ठसम्म पुग्नेछ भने सोही रुट हुँदै लगनखेलसम्म पुग्नेछ ।

त्यस्तै, सशस्त्र प्रहरी बलको अर्को बस स्वयम्भु हल्चोकबाट छुटेर कलंकीहुँदै बल्खु, सातदोबाटो, कोटेश्वर, गौशाला, चावहिल, सामाखुशी, बालाजुहुँदै चक्रपथ परिक्रमा गर्नेछ भने अर्को बस स्वयम्भु हल्चोकबाट छुटेर बालाजुहुँदै सामाखुशी, चावहिल, गौशाला, कोटेश्वर, सातदोबाटो, बल्खु, कलंकी भएर चक्रपथ परिक्रमा गर्नेछ ।

सशस्त्र प्रहरी बल नेपालले काठमाडौं उपत्यकाभित्र संचालन गर्ने सो निःशुल्क बस बडादशैंको विदा अवधिभर बिहान ८ बजेदेखि बेलुका ६ बजेसम्म सञ्चालन हुनेछ ।

यसअघि नेपाली सेना र नपाल प्रहरीलेपनि दशैंको अवसरमा निःशुल्क बस सञ्चालन गर्ने घोषणा गरिसकेका छन् ।

अनलाइन खबरबाट