पोखरामा दशैंका बेला सशस्त्र प्रहरीले निःशुल्क बस सञ्चालन गर्ने

By purnakhabar

October 15, 2018

२९ असोज, पोखरा । हिन्दू नेपालीहरुको महान चाड बडादशैंमा सशस्त्र प्रहरी बलले निःशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ ।

बडादशैंको मुख्य दिन विजया दशमीको दिन कात्तिक २ गते सर्वसाधारणलाई आवतजावतमा समस्या नहोस् भन्नका लागि सशस्त्र प्रहरीले पोखरामा निःशुल्क बस सेवा सञ्चालन गर्न लागेको हो ।

सशस्त्र प्रहरी बलको हुल तथा दङ्गा व्यवस्थापन तालिम शिक्षालय लामापाटनले टीकाको दिन निःशुल्क बस सेवा सञ्चालन गर्ने तालिम शिक्षालयका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक राजेन्द्र बस्नेतले जानकारी दिए । सो दिन सार्वजनिक सवारी साधनका चालकहरु पनि टीकामा ब्यस्त हुँदा गाडी अभाव हुनसक्ने अवस्थालाई मध्यनजर गर्दै गाडी सञ्चालन गर्ने निर्णय गरेको बताए ।

सशस्त्र प्रहरी बलको व्यानरसहितको २ वटा बसले सो दिन पोखराका विभिन्न रुटमा सेवा दिनेछ । तालिम शिक्षालयका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक बस्नेतका अनुसार बडादशैंको मुख्य दिन टीकाको दिन पूर्वाहृन १० बजे लामपाटनबाट बस छुट्नेछ । उक्त बस अमरसिंहचोक, मुस्ताङचोक, छोरेपाटन, लेकसाइड, जिरो किमी, सृजनाचोक, न्युरोड, चिप्लेढुङ्गा, नदीपुर, बगर हुँदै रानीपौवासम्मको रुटमा अपराहृन ४ बजे सम्म चल्नेछ ।

‘हामी पब्लिककै लागि हौं, दशैं तिहारमा पब्लिकलाई सेवा तथा सुरक्षा दिनु हाम्रो जिम्मेवारी हो’ सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक बस्नेतले भने ‘दशैं हामी पनि मान्छौं तर जनता हाम्रो पहिलो प्राथमिकता हो ।’

दशैंको अवधिभर हुन सक्ने कुनै पनि जोखिमका लागि तालिम शिक्षालयले एम्बुलेन्सको निःशुल्क सेवासमेत प्रदान गर्ने भएको छ । एम्बुलेन्स आवश्यकताका जुनसुकै बेला तालिम शिक्षालयको हटलाइन नम्बरमा फोन गरेर सेवा लिन सकिने बस्नेतले बताए । एम्बुलेन्सका लागि हटलाइन नम्बर ९८५१२७२०६० र ९८५१२७२०१८ मा फोन गर्न सकिने बस्नेतले जानकारी दिए ।

अनलाइन खबरबाट