Banner News

मौलो

By admin

October 14, 2018

गाडियो – ढालियो र, फेरि गाडियो मौलो त्यसपछि कहिल्यै ढलेन र, उखेलिएन पापको मौलो अन्यायको मौलो ।

मौलो खाँबो हो काठको – निर्जीव तर शासन हो भयको – आतंकको त्यसैले तर्साउँछ अत्याउँछ – प्रेतजस्तो लाग्छ दैत्यजस्तो लाग्छ – मौलो मलाई छुन डर लाग्छ टाउको उठाएर हेर्न डर लाग्छ।

मौलो शासन भो’- प्रशासन भो’ मुखिया भो – राजा भो’ म त रैती हूँ जगाती मात्र हूँ मौलोको छायाँ हाँसिरहेको छ झुण्ड्याएर खड्ग – मेरो गर्धनमाथि ।

मौलो आँखा थुन्छ – मुख थुन्छ नलीखुट्टा बाँध्छ – हात बाँध्छ गर्धन बाँध्छ र, च्वाट्ट छिनाल्छ। आँखा खान्छ – मुटु खान्छ र, पिउँछ रगत तनतनी पशुको पनि – मान्छेको पनि । मौलोको शासनमा मैले ‘म मान्छे हूँ’ भन्नुको के अर्थ ?

मौलो आतंकको शिखर अत्याचारको श्रीपेच राजाको मुकुट मलाई पनि रहर छ ढालेर देवीलाई भोग दिने ।

मैले खोतलेर हेरेको छु मौलोको जग कोतरेर सुँघेको छु- रगतको गन्ध मौलो वीरहरुलाई काटेर कायरहरुले गाडेको खाँबो रहेछ मलाई देउतासँग हैन मलाई मौलोसँग डर लाग्छ ।

मौलो बाचाल छ सपथ खाएका छन् – पीठाधीशहरुले निधार जोडेर मौलोमा मलाई पनि अमूक र बाचाल राख्ने। म प्रतिवद्ध छु मौलोविरुद्ध बोल्न ।

गौंडा – गौंडामा थुम्का – थुम्कामा कोट – कोटमा खटाइएका छन् मौलाका पूजारी पटांगिनीबाट हिजो जस्तै – आज पनि मौलो उही पूजारी मात्र नयाँ ।

अधूरै रह्यो यो हजार वर्ष गिंडेर सत्ताको शीर नयाँ मौलो गाड्ने निमुखाको आँगनमा ।

Source link