२ लाख ७१ हजारको किटनाशक विषादी बरामद

By purnakhabar

October 14, 2018

२८ असोज, वीरगञ्ज । सशस्त्र प्रहरीले वीरगञ्जबाट ठूलो परिमाणमा किटनाशक विषादीसहित एउटा गाडी नियन्त्रणमा लिएको छ ।

बरामद गरिएको विषादी र गाडीको मुल्य अन्दाजी १८ लाख भन्दा बढी भएको अनुमान गरिएको छ ।

सशस्त्र प्रहरीले भन्सार नाका हुँदै अवैध रुपमा तरकारी खेतीमा प्रयोग गरिने किटनाशक विषादी बरामद गरेको हो ।

वीरगञ्ज भन्सारस्थित सशस्त्र प्रहरीको भन्सार सुरक्षा गुल्मका सशस्त्र प्रहरी नायब उपरीक्षक तिलकबहादुर खड्काले बा१५च १९८ नम्बरको गाडीमा भारतबाट वीरगञ्ज भन्सार नाका हुँदै अवैध रुपमा ल्याउँदै गरेको अवस्थामा किटनाशक विषादी नियन्त्रणमा लिइएको बताए ।

बरामद गरिएको विषादीको मूल्य २ लाख ७१ हजार १ सय ९० रुपैयाँ मूल्य बराबरको विषादी र टाटाको गाडीको मुल्य १६ लाख अनुमान गरिएको छ ।

सशस्त्र प्रहरीले दिएको जानकारी अनुसार प्रिमाईज, फिल्सफोर्ट नेभ, फिल्को ईसी, रचुमीन सियोरका १ लिटर र २ सय ५० एमएलका १ सय ३ वटा, ५/५ लिटरका मुल्य १७ हजार आईसी लेखिएको तीन ग्यालेन, ५७ वटा अन्य प्याकेट र १५ वटा म्याकस फोर्स इन्जेक्सन बरामद भएको छ ।

त्यसैगरी, ४२ प्याकेट मुला, खुर्सानी, भेन्टा लगायतका तरकारीको बिउ समेत बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

बरामद गरिएको विषादी आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयको जिम्मा लगाइएको सशस्त्र प्रहरी नायब उपरीक्षक खड्काले बताए ।

अनलाइन खबरबाट