२७ असोज, काठमाडौं । दिवंगत कांग्रेस नेता एवम् पूर्व मन्त्री चक्रप्रसाद बास्तोलाको अपरान्ह अन्त्येष्टि गरिने भएको छ ।
गएराति ललितपुरको खुमलटारस्थित निवासमा निधन भएक नेता बास्तोलाको आइतबार अपरान्ह ४ बजेपछि अन्त्येष्टि गर्न लागिएको हो । अहिले निवासमा राखिएको उनको पार्थिव शरीरमा श्रद्धाञ्जली दिन शुभेच्छुक, काँग्रेस नेता, कार्यकर्ताहरु भेला भएका छन् ।
आइतबार नै उनको पार्थिव शरीरलाई कांग्रेस पार्टी केन्द्रीय कार्यालय सानेपामा श्रद्धाञ्जलीका लागि लगिनेछ । त्यसपछि पशुपति आर्यघाटमा अन्त्येष्टि गर्ने कार्यक्रम रहेकोे कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
निवासमा राखिएको उनको पार्थिव शरीरलाई श्रद्धाञ्जली व्यक्त गर्दै कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले नेता बास्तोलालाई प्रखर र प्रतिभाशाली नेताको रुपमा स्मरण गरे ।
उनले पार्टीलाई राजनीतिक, कूटनीतिक तथा आर्थिक क्षेत्रमा महत्वपूर्ण सुझाव दिनु हुने नेता बास्तोलाको निधनप्रति गहिरो दुःख समेत व्यक्त गरे ।
२०६९ साल पुस १४ गते विराटनगरको बन्धु भेलामा सहभागी हुने क्रममा ब्रेन अट्याक हुनु भएका बास्तोला त्यसयता अचेत अवस्थामा रहेका थिए । बास्तोलाले परराष्ट्रमन्त्री र भारतका लागि नेपाली राजदूतको भूमिका पनि निर्वाह गरेका थिए ।
नेता बास्तोला २०४६ सालको जनआन्दोलनपछि बनेको गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारलाई परराष्ट्र नीति निर्माणमा महत्वपूर्ण योगदान दिने नेताको रुपमा पनि परिचित थिए ।
तस्वीर : विकास द्वारे/अनलाइनखबर