दशैंका बेला विराटनगर काठमाडौं चल्ने बस संख्या घट्यो

By purnakhabar

October 14, 2018

२८ असोज, मोरङ । काठमाडौं-विराटनगर लामो दुरी गुड्ने ठूला बसको संख्या घटेको छ । दशैंको मुखमा काठमाडौंबाट बाहिरिने सर्वसाधरणले सहज रुपमा टिकट नपाइरहेको अवस्थामा विराटनगर-काठमाडौं लामो दुरीमा गुड्ने बसको संख्या घटेको हो ।

‘गत वर्षको तुलनामा आधा बस घटेका छन्’ रात्री तथा दिवाकालीन परिवहन सेवाका अध्यक्ष टीकाप्रसाद लिम्बु भन्छन् ‘यो बर्ष नयाँ बस पनि थपिएनन् ।’

काठमाडौं विराटनगर गुड्ने ठूला डिलक्स बस १० वटा छन् । माइक्रो ‘हाइस’ गाडी १५ वटा छन् । दैनिक आवत जावत गर्ने गाडीमध्ये एउटा बस र १५ वटा हाइस दिउँसो गुड्छन् भने ठूला ९ वटा डिलक्स राति कुद्छन् । सानो हाइस गाडी थपिएपछि ठूला गाडी विस्थापित भएका हुन् । लामो दुरीमा गुड्ने ठूला बस यात्रु नभएका कारण थन्काएर राख्नुपर्ने अवस्था रहेको अध्यक्ष लिम्बु बताउँछन् ।

काठमाडौंबाट विराटनगर र पूर्व आउने यात्रु भेटिए पनि विराटनगरबाट जादाँ भने गाडी खाली जाने गरेका छन् । ‘यताबाट जाने पेसेन्जर नै हुदैनन्’ अध्यक्ष लिम्बु भन्छन् ‘काठमाडौं जादा ५ हजार रुपैयाँ उठ्न पनि गाह्रो पर्छ । तर उताबाट आउने यात्रुले घाटा हुन दिँदैन ।’ काठमाडौं विराटनगर गुड्ने ठूला बस ३२ सिटे र साना हाइस १५ सिटे छन् ।

थपिएनन् नयाँ बस

दशै यातायात व्यावसायीहरुका लागि कमाई गर्ने राम्रो चाड हो । राम्रो कमाइ हुने भएकाले व्यावसायीहरुले दशैमा नै नयाँ गाडी थप्ने गर्छन् । तर यो दशैंमा भने विराटनगरबाट गुड्ने गरी एउटा गाडी पनि थपिएको छैन । अध्यक्ष लिम्बुका अनुसार लामा तथा छोटा दुरीमा कुद्ने गाडीहरु दशैंका मुखमा थप्ने होडबाजी हुन्थ्यो । तर यो वर्षको दशैंमा भने एउटा गाडी पनि नथपिएको उनको गुनासो छ ।

सरकारले यातायात व्यावसायी संघलाई भंग गरेका कारण व्यवसायीहरु अन्योलमा परेको उनको गुनासो छ । संघमार्फत सञ्चालन हुँदा बर्सेनी बस थपिए पनि सिन्डिकेट तोडिएको वर्ष भने नयाँ गाडी थपिएका छैनन् ।

सरकारले सिण्डिकेट अन्त्य गर्न बस व्यवसायी संघहरुलाई खारेज गर्ने चेतावनी दिएपछि विराटनगरमा रहेका पूर्व नेपाल यातायात व्यावसायी संघ, मोरङ मिनी बस व्यवसायी संघ र नेपाल दिवा तथा रात्री यातायात व्यवसायी संघ कम्पनी मोडलमा गएका छन् ।

कम्पनीमा दर्ता गराएका व्यवसायी संघले पुरानो संघलाई पनि निरन्तरता दिएका छन् । ‘कम्पनीमा गएका छौं’ लिम्बु भन्छन् ‘संघलाई पनि छोड्न सकेका छैनौं ।’ उनी सरकारको अन्योलताका कारण यातायात व्यवसायी संघलाई छोड्न नसकेको बताउँछन् ।

अनलाइन खबरबाट