२७ असोज, काठमाडौं । नेपाली कांग्रेसका नेता चक्रप्रसाद बास्तोलाको निधन भएको छ । शनिबार राति १० बजेर २० मिनेटमा खुमलटारस्थित निवासमै निधन भएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।
झण्डै ६ वर्षदेखि अर्धचेत अवस्थामा रहेका बास्तोलाको अवस्था शनिबार विग्रिएको थियो । लगतै परिवारले बाँसबारीस्थित न्यूरो अस्पताल लगेको थियो । तर, थप उपचार असम्भव रहेको भन्दै ४ बजे डिस्चार्ज गरेको थियो ।
बास्तोलालार्इ पुनः खुमलटारस्थित निवास लगियो । साँझ कांग्रेस महामन्त्री शशांक कोइराला, सहमहामन्त्री प्रकाशशरण महत लगायतका नेताहरू बास्तोला निवास पुगेर उनको अवस्थाबारे जानकारी लिएका थिए ।
बास्तोलाको शनिबार राति नै निधन भएको छ । उनका श्रीमती र दुर्इ छोरी छन् । दुबै छोरी गरिमा र सुम्निमा देश बाहिर रहेको र भोलि आइपुग्ने पारिवारिक स्रोतले बताएको छ ।
१४ पुस २०६९ मा विराटनगरको बन्धु भेलामा सहभागी बास्तोलालाई ब्रेन अट्याक भएको थियो ।
भारतको मेदान्त अस्पतालमा सात महिना उपचारपछि उनलाई घर ल्याइएको थियो । बाँसबारीस्थित न्यूरो अस्पतालमा उपचार गराउँदा पनि उसको होस आएको थिएन ।