वीरका कर्मचारीको ब्यापार, छोरीको फर्मबाट करोडौंका सामान खरिद

By purnakhabar

October 13, 2018

२७ असोज, काठमाडौं । देशकै सबैभन्दा ठूलो र जेठो सरकारी अस्पताल वीर अस्पतालभित्र कर्मचारीले आफन्तकै नाममा सप्लायर्स फर्म खोलेर ती फर्म मार्फत सामान खरिद गरि अनियमितता गर्ने गरेको खुलेको छ । वीर अस्पतालको करोडौंको खरिदमा कर्मचारीकै फर्मबीच प्रतिस्पर्धा गराइएको आशंकामा अख्तियारले चासो व्यक्त गरेको छ ।

राष्ट्रिय सतर्कता केन्द्रले गरेको छानविनका क्रममा खरिद इकाइ लगायत आर्थिक कारोबार हुने बिभागमा वर्षौंदेखि कार्यरत कर्मचारीले परिवारका नाममा फर्म खोलेर सामान लिने गरेको खुलेको थियो । यसअघि महालेखाका प्रतिवेदन र सतर्कता केन्द्रको अध्ययनले भ्रष्टाचार देखिएपछि अख्तियारले छानविन गर्न लागेको हो ।

खरिद  शाखामा कार्यरत अरूण महतोले छोरी सचिता देवीको नाममा एभरेष्ट  नेपाल  इन्टरनेशनल खोलेर सोहीबाट लाखौं रुपैया पर्ने एसी, फि्रज, इसिजी मेसिन, सोफा, टिभी, कार्पेट, दराज र कुर्सी लगायतका सामान खरिद तथा मर्मत गर्ने गरेको पाइएको छ ।

खरिद इकाइ प्रमुख भगवति थपलिया र महतोको मिलेमतोमा आफन्तकै फर्महरुबीच कोटेशन गराएर महँगोमा सामान खरिद गरेको पाइएको हो । खरिद इकाइबाट भएको भ्रष्टाचारको कुरा बाहिर आउन थालेपछि सतर्कता केन्द्र लगायतका निकायमा उजुरी गरेको भन्दै अन्इ कर्मचारीमाथिनै निगरानी शुरु भएको छ ।

वीर अस्पतालको खरिद  इकाइ कमाउ अड्डा मानिन्छन् । अनुभवी र प्राबिधिक कर्मचारी हुनुपर्ने इकाइमा स्टाफ टर्स थपलिया र अहेब महतोलाई जिम्मेवारी दिएको भन्दै अस्पताल प्रशासनको आलोचना हुँदै आएको छ । तर उनीहरुको ४ वर्षदेखि सरुवा गर्न समेत अस्पताल प्रशासनले सकेको छैन ।

अर्बौं रुपैयाको सामान खरिद हुने स्थानमा सो इकाइका कर्मचारीकै परिवारको नाममा खुलेका फर्मबाट सामान खरिद भएको देखिएको भन्दै महालेखा परीक्षकदेखि सतर्कता केन्द्र सम्मले अस्पताल प्रशासनलाई पटक पटक चेतावनी दिएको स्रोतले जनाएको छ । महालेखाको प्रतिवेदनमा सिटी स्कयान खरिदमा ९ करोड भ्रष्टाचार भएको किटान गरिएको छ ।

महालेखाले भ्रष्टाचार भएको भन्दा पनि उपकुलपति, निर्देशक र कर्मचारी युनियन समेत मौन बस्नुले अस्पतालको खरिदमा भएको भ्रष्टाचारमा मिलेमतोको भएको भन्दै अख्तियारमा समेत कर्मचारीले उजुरी हालेका छन् । महालेखा र सतर्कता केन्द्रको प्रतिवेदनमा आधारमा वीर अस्पतालको भ्रष्टाचारको उजुरीमा छानविन हुन लागेको अख्तियार स्रोतले जनाएको छ ।

कर्मचारीहरुले अस्पतालको खरिद शाखामा छापा मार्ने हो भने कुन फर्म कुन कर्मचारीको हो भन्ने थाहा हुने बताएका छन् । एभरेष्ट नेपाल फर्मबाट वीरको खरिदमा एकाधिकार जमाएका महतोले आफूलाई स्वास्थ्यमन्त्री उपेन्द्र यादवको प्रतिनिधि बताउने गरेका छन् । उनी यादवको पार्टी निकट स्वाथ्यकर्मी संघका केन्द्रीय उपाध्यक्ष हुन् ।

खरिद ऐनमा सो शाखामा बस्ने कर्मचारीले परिवारको कुनै फर्मबाट टेन्डर परेमा वा कोटेशनमा सामान लिने अवस्थामा सो कर्मचारी सम्बन्धित जिम्मेवारीबाट अलग हुनुपर्ने व्यवस्था छ । तर महतोको छोरीको नामको फर्मबाट कोटेशन पर्दा थाहा पाएर पनि खरिद प्रमुख थपलियाले पटक पटक सोही फर्मबाट सामान खरिद गरेको पाइएको छ ।

खरिद इकाइको दर्ता चलानीको किताब खाली राखी खरिद इकाइका कर्मचारीले आफू निकट र परिवारका सदस्यको फर्मको निवेदन दर्ता गरी अनियमितता गर्ने गरेको सतर्कता केन्द्रले जनाएको छ । केन्द्रले खरिद शाखमा सबै कागजात मागेर पत्र पठाएको छ ।

बिरोध गर्ने कर्मचारी र स्वास्थ्यकर्मीलाई तह लगाउन अस्पतालको गेटमा गुण्डा खडा गर्ने गरेको आरोप समेत लागेको छ । धम्कीमा परेका कर्मचारीले निर्देशक भुपेन्द्र बस्नेत समक्ष उजृुरी दिदा पनि अरुण महतोमाथि कारवाही नभएको कर्मचारी युनियनका एक पदाधिकारीले बताए ।

खरिद शाखामा रहेका महतो लगायतका कर्मचारीले वीर अस्पतालमा बेड खाली हुँदा हुँदै बल्खुको शिबज्योति अस्पताल र बानेश्वरको भेनस लगायतका अस्पतालमा विरामीलाई एम्बुलेन्समा हालेर पठाउने गरेको आरोप समेत लागेको छ । विरामीलाई ती अस्पतालमा पठाए बापत महतो लगायतले कमिसन पाउने गरेका छन् ।

अनलाइन खबरबाट