छापामा आजः टेलिफोन गर्न पालो, डायल गरे १० रुपैयाँ, उठाउँदा ५ !

By purnakhabar

October 12, 2018

२६ असोज, काठमाडौं । राजधानीबाट आज प्रकाशित दैनिक पत्रिकाहरुले विविध विषय उठाएका भए पनि काठमाडौं ७ बाट चुनाव उठ्ने दाउ गरेका नेकपा नेता वामदेव गौतम पछि हटेकोलाई सबैजसोले प्राथमिकताका साथ लेखेका छन् । पार्टीकै शीर्ष नेता तथा कार्यकर्ताको असन्तुष्टि र सामाजिक सञ्जालमा भइरहेको कटाक्षपछि वामदेव चुनाव उठ्ने मनस्थितिबाट पछि हटेका हुन् ।

पत्रपत्रिकाहरुको पहिलो पृष्ठमै प्रदेश कर्मचारी बेखर्ची भएको, बीपी प्रतिष्ठान शक्ति संघर्षको चपेटामा परेको, स्थानीय तहले दरबन्दीको आधा मात्रै कर्मचारी पाएको, सरकारी निर्णयविपरीत सांसदलाई भत्ता दिइएको, सरकारी सेवामा महिलाको आकर्षण बढेकोलगायत खबर छन् ।

नयाँ पत्रिका दैनिकले आज स्थानीय तहको हेपाइका कारण स्थानीय तहले आवश्यक कर्मचारीको आधा मात्रै पाएकोलाई मुख्य समाचार बनाएको छ ।

समाचार अनुसार ५७ हजार दरबन्दी रहेको स्थानीय तहमा २९ हजार र २१ हजार दरबन्दी रहेको प्रदेशमा १ हजार मात्रै कर्मचारी पठाइएको छ । तर ४५ हजार दरबन्दी रहेको केन्द्रमा भने ७२ हजार कर्मचारी थुपरिएको छ ।

नयाँ पत्रिका लेख्छ– स्थानीय तहमा कर्मचारी अभाव मात्रै होइन, तमाम समस्या छन् । संघीय मामिला मन्त्रालयमा जनताका अनेक गुनासा पनि आइरहेका छन् । तर, कर्मचारी व्यवस्थापनबाहेक पाटोमा संघीय मामिला मन्त्रालयको कुनै अधिकार नभएको मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीलाई कोट गर्दै नयाँ पत्रिकाले समाचार लेखेको छ ।

वामदेव प्रसंगको समापन भएकोलाई पनि नयाँ पत्रिकाले प्राथमिकताका साथ पहिलो पृष्ठमा समेटेको छ । ‘पार्टीकै शीर्ष नेता–कार्यकर्ताको असन्तुष्टि र सामाजिक सञ्जालको विरोधले वामदेवलाई गलाएको छ’, नयाँ पत्रिकाले वामदेव पछि हट्नुको कारण उल्लेख गर्दै लेखेका छन् ।

वामदेवले काठमाडौं ७ का नेताहरुलाई फोनमार्फत् धन्यवाद दिँदै चुनाव नउठ्ने जानकारी दिएका छन् ।

नयाँ पत्रिकामै टेलिफोन गर्न पालो कुर्नुपर्ने हुम्लाको खबर छ । हातहातमा मोबाइलले देशभर ल्यान्डलाइनको प्रयोग कम हुँदै गए पनि हुम्लाको नाम्खा गाउँपालिकास्थित लिमी गाउँका बासिन्दाले भने टेलिफोन गर्न पनि पालो कुर्ने गरेका छन् । समाचार अनुसार फोन गर्दा दश र उठाउँदा प्रतिमिनेट पाँच रुपैयाँ तिर्नुपर्छ ।

प्रधानसेनापति पूर्णचन्द्र थापाले संविधानविरोधी र विखण्डनकारीविरुद्ध राष्ट्रिय निर्देशन प्राप्त भए सेना परिचालित हुन तयार रहेको बताएका छन् । नयाँ पत्रिकाका अनुसार संविधानविरोधी तथा विखण्डनकारी गतिविधिमाथि सेनाले निगरानी राखेको र राष्ट्रिय निर्देशन पाए परिचालित हुने बताएका छन् ।

दशैं चहलपहलको तस्वीर छापेको कान्तिपुरले ‘पछि हटे वामदेव’, ‘प्रदेश कर्मचारी बेखर्ची’, ‘जन्मदिनमा बोलाएर सामूहिक बलात्कार’लगायत शीर्षकमा समाचार लेखेको छ ।

अनलाइन खबरबाट