प्रधानसेनापति थापा भन्छन् : विखण्डनकारी समूहको सुक्ष्म निगरानी गरिरहेका छौं

By purnakhabar

October 11, 2018

२५ असोज, काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापाले विखण्डनकारी समूहको नेपाली सेनाले सुक्ष्म अध्ययन गरिरहेको बताएका छन् । भोलि कस्तो परिस्थिति निर्माण हुनसक्छ भन्ने बारेमा सेना चनाखो रहेको उनको भनाइ छ ।

बिहीबार आर्मी अफिसर्स क्लबमा आयोजित दशैंको शुभकामना आदनप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै थापाले भने, ‘अहिले विखण्डनकारी समूहको गतिविधिलाई राज्यले प्रहरी प्रशासनको क्षमताभित्रको विषय ठानेर होला, हाम्रो डोमेनमा यो पर्दैैन । यद्यपि, सुक्ष्म निगरानी गरिरहेका छौं । राज्यले आवश्यक ठाने सेना तयार छ ।’

उनले यस्ता विषयको समाधान राजनीतिक तहबाटै हुनु पर्ने धारणा व्यक्त गरे । ‘समाधानका अन्य विकल्पहरु पनि राज्यसँग हुन्छन् । सेना संविधानले दिएको आफ्नो भूमिकामा जिम्मेवार छ,’ उनले भने ।

सेनाले संविधानद्वारा निर्देशित दायित्व मात्रै निर्वाह गर्ने उल्लेख गर्दै थापाले त्यही अनुसार सेनालाई उभ्याउने बताए । पछिल्लो समय सेनाभित्र भ्रष्टाचार मौलिएको विषयबारे राखिएको जिज्ञासामा थापाले केही पक्षमा सुधार आवश्यक रहेको जवाफ दिए ।

‘सेनाभित्र भ्रष्टाचार नियन्त्रणको लागि संयन्त्र छ । केही पक्षमा सुधार पनि गर्नुछ । तर, सेनाको एक्लो प्रयासले मात्रै त्यो सम्भव छैन’, उनले थपे, ‘यो एकैदिनमा हट्ने कुरा पनि होइन । जरादेखि नै उपचार गर्नुपर्छ ।’

भर्ना छनौट वेलामा आर्थिक चलखेलदेखि शान्ति सेनाको विषयसम्ममा विभिन्न कुरा उठ्ने गरेको उल्लेख गर्दै उनले भने, ‘त्यसको जरो पहिल्याएर कारबाही सुरु हुन्छ ।’

‘बाहिर आए जति त होइन तर, केही हदसम्म हो’, उनले अगाडि भने, ‘त्यसलाई विस्तारै निर्मुल पार्दै लान्छौं ।’

सेनाको अत्यधिक व्यवसायिक संलग्नताबारेमा प्रश्न उठ्दा उनले संविधानले तोकेको जिम्मेवारी मात्रै आफूहरुले बहन गरेको बताए । ‘विकास निर्माणमा हाम्रो उपस्थिति संविधानले तोकेको जिम्मेवारी नै हो’, उनले भने ।

अनलाइन खबरबाट